काठमाडौं : नेपाली सैनिक वार कलेज, नगरकोटमा सञ्चालित सि.सं. ६ अल आर्म्स कमाण्ड तथा स्टाफ कोर्षमा सहभागी ४६ जना तालिमरत अधिकृतहरूले बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण सम्पन्न गरेका छन्।
अवलोकन भ्रमणका क्रममा सहभागी अधिकृतहरूलाई नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले स्वागत गरेका थिए। भ्रमणका क्रममा अधिकृतहरूले प्रहरी प्रधान कार्यालयको डाटा सेन्टर, पोलिग्राफ शाखा, डिजिटल फरेन्सिक ल्याब र प्रहरी सङ्ग्राहलयको अवलोकन गरेका थिए।
भ्रमण पश्चात आयोजित विशेष कार्यक्रममा नेपाल प्रहरीका सहप्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले नेपाल प्रहरीको संरचना, ऐतिहासिक विकासक्रम, जिम्मेवारी, कार्यशैली, तथा नेपाली सेना र नेपाल प्रहरीबीचको समन्वय र सहकार्यका पक्षहरूबारे प्रस्तुति दिएका थिए। उनले अन्तरक्रियात्मक सत्रमा सहभागी अधिकृतहरूका विभिन्न जिज्ञासाहरूको पनि जवाफ दिएका थिए।
सो अवसरमा सेनानी मनोज सुबेदीले सहभागी तालिमरत अधिकृतहरूको तर्फबाट धन्यवाद मन्तव्य व्यक्त गर्दै नेपाल प्रहरीको संरचना, प्रविधि र सहकार्य क्षमताबारे जानकारी पाउनु आफूहरूका लागि महत्वपूर्ण रहेको बताए।
प्रतिक्रिया