विहारका पूर्वमुख्यमन्त्री लालु यादवले जेठा छोरा तेज प्रतापलाई घर र पार्टीबाट किन गरे निष्कासित ?

सोमबार, १२ जेठ २०८२

नयाँ दिल्ली । राष्ट्रिय जनता दल (आरजेडी) का अध्यक्ष लालुप्रसाद यादवले आफ्ना जेठा छोरा तेज प्रताप यादवलाई ‘सार्वजनिक आचरण र गैरजिम्मेवार व्यवहार’ को कारण देखाउँदै पार्टीबाट ६ वर्षका लागि निष्कासित गरेका छन्।

तेज प्रतापले आफ्नो प्रेम सम्बन्धबारे फेसबुकमा गरेको एक पोस्ट भाइरल भएपछि यो कारबाही भएको हो।

पूर्वबिहार मन्त्री समेत रहेका तेज प्रतापले शनिबार एक युवतीसँगको आफ्नो सम्बन्धबारे सार्वजनिक गरेका थिए। उनले फेसबुकमा आफ्नी प्रेमिका अनुष्का यादवसँगको तस्विर साझा गर्दै उनीहरु १२ वर्षदेखि प्रेम सम्बन्धमा रहेको बताएका थिए।

“म तेज प्रताप यादव हुँ र यो तस्विरमा देखिएकी अनुष्का यादव हुन्। हामी १२ वर्षदेखि एक-अर्कालाई चिन्छौं। हामी प्रेममा छौं र १२ वर्षदेखि सम्बन्धमा छौं,” तेज प्रतापले आफ्नो पोस्टमा लेखेका थिए, “मैले यो तपाईंसँग लामो समयदेखि साझा गर्न चाहिरहेको थिएँ….. त्यसैले, म यो तपाईं सबैसामु प्रकट गर्दैछु। मलाई आशा छ तपाईंले मलाई बुझ्न सक्नुहुनेछ।”

यो पोस्ट सामाजिक सञ्जालमा भाइरल भएपछि लालु यादवले कडा प्रतिक्रिया दिएका छन्। उनले ट्विटरमा एक पोस्ट गर्दै भनेका छन्, “व्यक्तिगत जीवनमा नैतिक मूल्यमान्यतालाई बेवास्ता गर्दा सामाजिक न्यायका लागि हाम्रो सामूहिक संघर्ष कमजोर हुन्छ। जेठा छोराको गतिविधि, सार्वजनिक आचरण र गैरजिम्मेवार व्यवहार हाम्रो पारिवारिक मूल्यमान्यता र परम्परा अनुरूप छैन।”

लालु यादवले थपेका छन्, “तसर्थ, माथिका परिस्थितिहरूको कारण, म उनलाई पार्टी र परिवारबाट हटाउँछु। अबदेखि उनको कुनै भूमिका रहनेछैन। उनलाई ६ वर्षका लागि पार्टीबाट निष्कासित गरिएको छ।”

उनले आफ्नो पोस्टमा यो पनि उल्लेख गरेका छन् कि, “आफ्नो व्यक्तिगत जीवनमा सही र गलत, राम्रो र नराम्रोको मूल्याङ्कन गर्ने जिम्मेवारी व्यक्ति आफैंको हो। उनले आफूलाई टाढा राख्ने र व्यक्तिगत सम्बन्ध मात्र राख्ने निर्णय आफैंले गरेका छन्। लोहियावाद र समाजवादको सन्देशले सधैं सार्वजनिक जीवनमा व्यक्तिगत नैतिकतालाई प्राथमिकता दिएको छ। परिवारले पनि यही विश्वासलाई अँगालेको छ।”

यद्यपि, पोस्ट भाइरल भए लगत्तै पूर्वमन्त्री तेज प्रतापले आफ्नो फेसबुक पेज ह्याक भएको दाबी गरेका छन्। उनले अर्को पोस्टमा आफू र आफ्ना परिवारका सदस्यहरूलाई बदनाम र हैरान गर्ने प्रयास भएको बताएका छन्। “मेरो सामाजिक सञ्जाल प्लेटफर्म ह्याक गरिएको थियो र मेरा तस्विरहरू गलत तरिकाले सम्पादन गरिएको थियो,” यादवले भने। यो पोस्ट हाल सामाजिक सञ्जालबाट हटाइएको छ।

स्मरण रहोस्, ३७ वर्षीय तेज प्रताप यादवले २०१८ मा पूर्व बिहार मुख्यमन्त्री दरोगा राईकी नातिनी ऐश्वर्यासँग विवाह गरेका थिए । तर, केही महिनाभित्रै ऐश्वर्याले आफ्ना पति र सासू-ससुराले आफूलाई घरबाट निकालेको आरोप लगाएर घर छाडेकी थिइन्। -एजेन्सी

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार