भोजपुर : भोजपुरलाई बाह्य जिल्लासँग जोड्ने प्रमुख यातायात मार्ग भोजपुर–लेगुवा सडक मर्मतको नाममा 'टालटुल शैली' को कमजोर र लापरवाह काम भइरहेपछि स्थानीयवासी आक्रोशित भएका छन्।
६६ किलोमिटर लामो यो सडकको मर्मत प्रारम्भमै भत्किँदै जाँदा निर्माणको गुणस्तरप्रति गम्भीर प्रश्न उठेका छन्।
विगतमा कालोपत्र गरिएको सडक खण्डहरूमा खाल्डाखुल्डी परेपछि सडक डिभिजन कार्यालय तुम्लिङटारमार्फत मर्मत थालिएको हो। तर, मर्मतका क्रममा 'टालिएको' कालोपत्र केही दिनमै उखेलिएर सडक पुनः जोखिमपूर्ण बनेको छ। यसले मर्मत कार्य सतही, देखावटी र अस्वस्थ प्रतिविद्धतामा आधारित भएको स्पष्ट सङ्केत गरेको छ।
स्थानीय सरबहादुर श्रेष्ठले भने,“टालिएको भाग एक–दुई महिनासमेत टिकेन। यति छिटो भत्किने मर्मत त ठाडो लापरबाही हो। सरकारी संयन्त्रले आँखामा छारो हालेर ठेकेदारलाई मनपरी गर्न दिइरहेको छ।”
सडक मर्मत कार्य ढिलो गरी थालिएको मात्र होइन, सुरु भएको मर्मत पनि कमजोर, अनियमित र ‘बजेट सकाउने शैली’को देखिएको स्थानीयहरूको आरोप छ। खाल्डाखुल्डी दिनदिनै बढिरहेका छन्। सडक यति बिग्रिएको छ कि सवारी साधन चलाउनसमेत जोखिमपूर्ण बनेको छ।
स्थानीय खगेन्द्र राईको भनाइमा, “सस्तो लोकप्रियता कमाउने, बजेट सकाउने र कमिसन खाने प्रवृत्तिले हाम्रो सुरक्षामै खेलबाड गरेको छ। हामी सडकमा यात्रा गर्ने कि जोखिम मोलेर पीडा भोग्ने?”
सडकको गुणस्तरप्रति गम्भीर असन्तुष्टि जनाउँदै स्थानीयले मर्मत कार्यमा कडाइका साथ अनुगमन गर्न, लापरवाह ठेकेदारलाई कारबाही गर्न र दीर्घकालीन समाधान खोज्न माग गरेका छन्। उनीहरूको चेतावनी छ — यदि काम यथावत् रह्यो भने सडक आन्दोलन गर्न बाध्य हुनेछन्।
प्रतिक्रिया