मानगढ खानेपानीको अध्यक्षमा एमालेका बागी भट्टराई विजयी

सोमबार, १२ जेठ २०८२

विराटनगर : विराटनगर महानगरपालिका–२ स्थित मानगढ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा नेकपा (एमाले) का बागी उम्मेदवार लालमणि भट्टराई विजयी भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा एमालेकै संस्थापन पक्ष र नेपाली कांग्रेसका उम्मेदवारलाई पछि पार्दै भट्टराईले नेतृत्व हात पारेका हुन्।

भट्टराईले १ हजार ८८९ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भए। एमाले संस्थापन पक्षबाट उम्मेदवार बनेका वर्तमान अध्यक्ष रामबहादुर घिमिरेले १ हजार १५४ मत पाएका थिए भने नेपाली कांग्रेस समर्थित उम्मेदवार दुर्गा चापागाईं ६३५ मतमा सीमित भइन्।

 

भट्टराई एमाले मोरङभित्रै सक्रिय विनोद ढकाल समूहका नेता हुन्। ढकाल पक्षले पार्टीको संस्थापन नेतृत्वको विरोध गर्दै मानगढ खानेपानी आयोजनामा छुट्टै उम्मेदवारी दर्ता गराएका थिए। यसअघि संस्थापन पक्षले पार्टी निर्देशनको अवज्ञा गरेको भन्दै भट्टराईसहित ढकाल समूहका केही नेतालाई कारबाहीसमेत गरेको थियो।

मानगढ खानेपानी आयोजनाको निर्वाचनलाई लिएर एमाले मोरङमा लामो समयदेखि विवाद चुलिएको थियो। अघिल्लो वर्ष नै निर्वाचन गर्ने तयारी भए पनि आन्तरिक गुटबन्दी र उम्मेदवार चयन विवादका कारण निर्वाचन स्थगित भएको थियो। त्यसपछि विषय अदालतमा पुगेपछि उच्च अदालत विराटनगरले पुनः मतदान गर्न आदेश दिएको थियो।

यस पटकको निर्वाचनमा कुल ५ हजार ९८८ उपभोक्तामध्ये ३ हजार ९६४ जनाले मतदान गरेका थिए। समितिको महिला उपाध्यक्षमा सावित्रा पोखरेल, खुला उपाध्यक्षमा भोलानाथ घिमिरे, सचिवमा प्रदीपकुमार नेपाल र कोषाध्यक्षमा सरोज घिमिरे निर्वाचित भएका छन्।

विजयी भएपछि अध्यक्ष भट्टराईले आफूहरूको उम्मेदवारी र विजयले पार्टीमा आन्तरिक लोकतन्त्रको आवश्यकता देखिएको बताए। उनले भने, “हामीमाथि अघिल्लो वर्ष कारबाही गरिएको थियो, तर जनमतले देखायो कि हाम्रो लाइन सही थियो।”

एमाले मोरङमा मानगढ खानेपानी आयोजना गुटगत प्रतिस्पर्धाको प्रतीक बनेको छ। यही आयोजनाबाट सुरु भएको विवाद जिल्ला र महानगर अधिवेशनसम्मको नेतृत्व चयनमा निर्णायक बन्यो। ढकाल समूहले पछिल्ला दुवै अधिवेशनमा आफ्नो पकड जमाएको छ।

नेता विनोद ढकालले सार्वजनिक संघसंस्थामा पार्टीको हस्तक्षेप अनुचित हुने बताउँदै निर्वाचनले त्यसको अस्वीकृति दिएको प्रतिक्रिया दिएका छन्। “पार्टीका उम्मेदवार भनेर संस्थापनले थोपर्ने अभ्यासले जनताको अधिकार कुन्ठित हुन्छ,” उनले भने, “मानगढले देखाएको सन्देश एमालेको आगामी राजनीतिमा निर्णायक बन्न सक्छ।”

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार