‘मलाई वेश्याजस्तो व्यवहार गरियो’ भनेपछि विवादमा मिस वर्ल्ड प्रतियोगिता

सोमबार, १२ जेठ २०८२

नयाँ दिल्ली : यस वर्षको मिस वर्ल्ड प्रतियोगिता भारतको तेलंगाना राज्यको राजधानी हैदराबादमा आयोजना हुँदैछ। तर, प्रतियोगिता सुरु हुनुअघि नै यो कार्यक्रम विवादको घेरामा परेको छ।

मिस इङ्गल्यान्ड २०२५ की विजेता मिला म्यागी प्रतियोगिता बिचमै बाहिरिएपछि उनले आयोजकहरूविरुद्ध गम्भीर आरोप लगाएकी छन्।

उनले बेलायती पत्रिका ‘द सन’ सँगको अन्तर्वार्तामा भनिन्, “उनीहरूले मलाई वेश्याजस्तो महसुस गराए। म परिवर्तन ल्याउने उद्देश्यले त्यहाँ पुगेकी थिएँ, तर मलाई खेलौनाजस्तो व्यवहार गरियो।” उनका अनुसार प्रतियोगिताको वातावरण आफूमाथि “अन्यायपूर्ण र अपमानजनक” रहेको थियो।

तेलंगाना सरकारले सुरु गर्‍यो अनुसन्धान

म्यागीका गम्भीर आरोपहरूलाई मध्यनजर गर्दै तेलंगाना सरकारले अनुसन्धान सुरु गरेको छ। वरिष्ठ आईपीएस अधिकारी शिखा गोयल, रमा राजेश्वरी र साइबराबाद डीसीपी साई श्री को नेतृत्वमा तीन सदस्यीय टोलीले घटनाको विस्तृत अध्ययन गरिरहेको छ। टोलीले प्रतियोगिताका अन्य सहभागीहरूको बयान पनि लिइरहेको छ।

द सनलाई दिएको अन्तर्वार्ता र मुख्य आरोपहरू

मिला म्यागीका अनुसार, प्रतियोगिता दौरान “धनी पुरुष प्रायोजकहरूका सामु महिलाहरूलाई प्रस्तुत गरिएको” थियो। उनले भनिन्, “प्रत्येक टेबलमा दुई युवतीहरूलाई छ जना पाहुनासँग बसेर साँझभरि मनोरञ्जन गर्न भनिएको थियो, जुन अत्यन्त अपमानजनक र असहज अनुभव थियो।”

उनले थप भनिन्, “साँझको खानादेखि मेकअप र बल गाउनमा दिन बिताउनु पर्ने अपेक्षा थियो। यस्तो व्यवहार मेरो नैतिकताविरुद्ध थियो। मिस वर्ल्डजस्ता प्रतियोगिताको युग सकिएको छ। यस्तो सोच पुरानो भइसकेको छ।”

बीआरएसको राजनीतिक प्रतिक्रिया

घटनालाई लिएर भारत राष्ट्र समिति (बीआरएस) ले कडा प्रतिक्रिया दिएको छ। बीआरएसले कङ्ग्रेस नेतृत्वको तेलंगाना सरकारमाथि आरोप लगाउँदै लेखेको छ, “२५० करोड रुपैयाँ खर्चेर राज्यको छवि बिगारियो। अब रेवन्त सरकार जबाफदेही बन्नुपर्छ।”

मिस वर्ल्ड आयोजकहरूको खण्डन

मिस वर्ल्ड आयोजकहरूले भने म्यागीका आरोपहरू पूण रूपमा अस्वीकार गरेका छन्। आधिकारिक विज्ञप्तिमा भनिएको छ, “म्यागीले आफ्नी आमाको अस्वस्थता जनाउँदै आपत्कालीन रूपमा फर्कन अनुमति मागेकी थिइन्, जुन स्वीकृत गरिएको हो।” साथै, उनीहरूले म्यागीको हैदराबाद बसाइका बेला रेकर्ड गरिएको एक सम्पादन नगरिएको भिडियो सार्वजनिक गरेका छन्, जसमा म्यागीले प्रतियोगिताबारे सकारात्मक प्रतिक्रिया दिएकी देखिन्छन्।

विज्ञप्तिमा भनिएको छ, “भारतमा दिइएको उनको अभिव्यक्ति र बेलायतमा आएका समाचारबिच कुनै मेल छैन। यो प्रतियोगिता 'ब्युटी विथ अ पर्पज' भन्ने मूल्यप्रति प्रतिबद्ध छ। मिडियाले आधारभूत पत्रकारिता सिद्धान्त पालना गर्नुपर्छ।”

प्रतिनिधित्वमा फेरबदल

म्यागीको बाहिरिएपछि मिस इङ्गल्यान्डकी उपविजेता चार्लोट ग्रान्ट अब प्रतियोगितामा इंग्ल्यान्डको प्रतिनिधित्व गर्दै छिन्।

यो विवादसँगै मिस वर्ल्ड प्रतियोगिताको नैतिकता, व्यवस्थापन र महिलाप्रतिको दृष्टिकोणबारे अन्तर्राष्ट्रिय स्तरमै बहस चुलिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार