विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको नेतृत्वमा उच्चस्तरीय टोलीले झापाको कमल गाउँपालिकामा अवस्थित कोशी प्रदेश, प्रादेशिक आयुर्वेद अस्पतालको अनुगमन तथा निरीक्षण गरेको छ ।
मुख्यमन्त्री कार्कीका साथमा स्वास्थ्य मन्त्री भूपेन्द्र राई, प्रमुख सचिव चन्द्रकला पौडेल, स्वास्थ्य सचिव राधिका थपलिया, संविधान सभा सदस्य दीपक कार्की लगायतको टोली निरीक्षणमा सहभागी थियो ।
निरीक्षणको क्रममा मुख्यमन्त्री कार्कीले अस्पतालमा दिइँदै आएको सेवा, पूर्वाधार र व्यवस्थापनका विषयमा जानकारी लिँदै अस्पतालका कर्मचारीलाई सेवा प्रभावकारी बनाउन आवश्यक निर्देशन दिएका छन् । उनले आउँदो आर्थिक वर्षको बजेटमार्फत अस्पताललाई पूर्णरूपमा सञ्चालन गर्नुपर्ने व्यवस्था मिलाइने स्पष्ट गरे ।
मुख्यमन्त्री कार्कीले आयुर्वेद क्षेत्रको प्रवद्र्धनका लागि कोशी प्रदेश सरकारले विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयसँग सहकार्य गर्न चाहेको पनि बताए । “औषधि उत्पादनदेखि आधुनिक पूर्वीय चिकित्सा प्रविधिको उपयोग गरी हामीले आयुर्वेद क्षेत्रलाई मजबुत बनाउन चाहन्छौं,” उनले भने ।
स्वास्थ्य मन्त्री भूपेन्द्र राईले आयुर्वेदिक चिकित्सा प्रणालीको प्रभावकारिता र जनविश्वास दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै वैकल्पिक स्वास्थ्य सेवा प्रणालीको रूपमा यसले ठूलो भूमिका निर्वाह गरिरहेको बताए ।
निरीक्षणमा सहभागी प्रतिनिधिहरूले अस्पतालको पूर्वाधार सुधार, जनशक्ति व्यवस्थापन, औषधि आपूर्ति तथा अनुसन्धानको अभावको विषयमा समेत ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया