लन्डन : बेलायतको कुम्ब्रियाकी ३९ वर्षीया रेबेका हिन्दको जीवन एउटा चमत्कारी उदाहरण बनेको छ । उनलाई दुर्लभ प्रकारको क्यान्सर ‘स्यूडोमाइक्सोमा पेरिटोनी’ (एःए) भएको पुष्टि भएपछि, शरीरका १३ वटा भित्री अङ्गहरू फाल्नुपरेको थियो । यति ठूलो शल्यक्रिया भोगेर पनि उनले आफ्नो जीवनप्रति आस्था गुमाइन् भनेनन्, बरु अझ मजबुत भएर अगाडि बढेकी छन् ।
यो रोग विश्वभर एक लाख जनामध्ये एक जनालाई मात्र लाग्ने दुर्लभ म्यूसिनस क्यान्सर हो, जसले शरीरभित्र म्यूकस पदार्थ फैलाउने गर्छ । रेबेकाले पहिलोपटक डिसेम्बर २०१८ मा क्रिसमस पार्टीपछि पेटमा असहज महसुस गरेकी थिइन् । सुरुमा उनले खाना विषालु भएको ठानिन् तर लक्षण लम्बिँदै गएपछि परीक्षण गर्दा उनी क्यान्सरबाट पीडित रहेको थाहा भयो ।
सन् २०१९ को नोभेम्बरमा भएको ठूलो शल्यक्रियामा उनको पित्तथैली, प्लीहा, ठूलो आन्द्रा, पाठेघर लगायतका प्रमुख अङ्गहरू निकाल्नुपर्यो । यति गम्भीर अवस्थाका बीच पनि उनले आत्मबल गुमाइनन् । “म ४० वर्ष पुगेँ, अब म जीवनका सबै अवसरहरूमा ‘हो’ भन्न चाहन्छु,” उनले एक अन्तर्वार्तामा भनिन् ।
रेबेकाको संघर्ष र साहस आज विश्वभरका बिरामीहरूका लागि प्रेरणाको स्रोत बनेको छ । उनका शब्दहरूमा जीवनप्रतिको जिद्दि, विपत्तिसँगको जुझारूपन, र पुनर्जीवनको कथा स्पष्ट देखिन्छ ।
प्रतिक्रिया