जन्मकैद सजाय भोगिरहेका नेता मोहम्मद अफताब आलमलाई उच्च अदालतबाट सफाइ

बुधबार, १४ जेठ २०८२
फाइल तस्बिर

रौतहट : रौतहटको बहुचर्चित बम विष्फोट तथा हत्याकाण्डमा जन्मकैदको सजाय पाएका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले सफाइ दिएको छ।

न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले जिल्ला अदालतको फैसला उल्टाउँदै आलमलाई निर्दोष ठहर गरेको हो।

यसअघि रौतहट जिल्ला अदालतले आलमसहित चार जनालाई विस्फोटक पदार्थको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो।

अदालतले घाइतेलाई इँटाभट्टामा जिउँदै जलाएको आरोप भने पुष्टि हुन नसकेको ठहर गर्दै उक्त अंशमा जिल्ला अदालतको फैसला सदर गरेको छ।

२०६४ चैत २७ गते संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटको राजपुर फरहदवा–४ मा रहेको आलमको घरमा बम विष्फोट भएको थियो।

आरोप अनुसार, आलमले भारतबाट बम बनाउने व्यक्ति ल्याई चुनाव जित्नका लागि बुथ कब्जाको रणनीति बनाएका थिए। विष्फोटमा त्रिलोकप्रताप सिंह (पिन्टु) र ओसी अख्तर मियाँ घाइते भएका थिए, जसपछि उनीहरूलाई इँटाभट्टाको चिम्नीमा जिउँदै जलाइएको आरोप लाग्यो।

घटनाको १२ वर्षपछि मात्र, २०७६ असोज २६ गते आलम पक्राउ परेका थिए। सर्वोच्च अदालतको हस्तक्षेपपछि मात्रै प्रहरी प्रशासन सक्रिय बनेको हो। यसअघि उनले शक्तिको प्रयोग गरी प्रमाण नष्ट गर्नेदेखि अनुसन्धानलाई प्रभावित पार्ने प्रयास गरेको आरोप लागेको थियो।

उक्त मुद्दामा २०७६ कात्तिक १८ गते ११ जनाविरुद्ध जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरिएको थियो। आलम अहिले ललितपुरको नक्खु कारागारमा छन्। अदालतको हालको फैसलापछि उनको रिहा प्रक्रिया अगाडि बढ्ने अनुमान छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार