विराटनगर : कोशी प्रदेश सरकारद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा विभिन्न दलका शीर्ष नेताहरूले लोकतन्त्रपछिको प्रगतिलाई स्वीकार्दै पनि नेतृत्व र आचरणको सुधार आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।
कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आयोजित ‘संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि, अवसर, सम्भावना र चुनौती’ विषयक कार्यक्रममा प्रमुख दलका नेताहरूले समसामयिक राजनीतिक अवस्था र जनतामा बढ्दो निराशाका कारणहरूबारे विचार राखे ।
प्रदीप ज्ञवाली : आचरण नबदलिँदा असन्तुष्टि चुलिएको
नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लोकतन्त्रपछि व्यापक प्रगति भएको उल्लेख गर्दै पनि जनताको असन्तुष्टि आचरणको कारणले बढेको बताए । “राजस्व ११७ गुणाले बढेको छ, खाद्यान्न उत्पादन र व्यक्तिगत आय पनि बढेको छ, तर असन्तुष्टि हटेको छैन,“ उनले भने, “संविधान मात्र होइन, नेतृत्वको प्रवृत्ति नै बदल्न जरुरी छ।“
मिनेन्द्र रिजाल : मानवीय विकास दरमा उल्लेख्य प्रगति
नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले विगत तीन दशकमा नेपालीको औसत आयु, साक्षरता, मातृमृत्यु दरलगायत मानवीय सूचकहरूमा तीव्र प्रगति भएको उल्लेख गरे। उनले सहमतिका साथ अगाडि बढ्ने बेला भएकाले दलहरूबीच सहकार्य जरुरी रहेको बताए।
हरिबोल गजुरेल : इमान्दारी र नैतिकताको खाँचो
नेकपा माओवादीका नेता हरिबोल गजुरेलले नैतिकता र इमान्दार नेतृत्वको अभावमा जनताको विश्वास कमजोर बनेको बताए ।
हिक्मत कार्की : गणतन्त्र उल्ट्याउने बहस निरर्थक
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले लोकतन्त्र र गणतन्त्रको विकल्प नरहेको भन्दै यसलाई अझ सुदृढ गर्नुपर्नेमा जोड दिए। “राजतन्त्र फर्किन्छ भन्ने सोचको कुनै औचित्य छैन,“ उनले भने, “मुख्य चुनौती कार्यशैलीको छ, त्यसमा सुधार आवश्यक छ।“
रेवतीरमण भण्डारी : गणतन्त्रका उपलब्धि जनसमक्ष लैजान कार्यक्रम
कार्यक्रम आयोजक तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले गणतन्त्र दिवसको सन्दर्भमा तीनदिने विशेष कार्यक्रममार्फत लोकतन्त्रको उपलब्धि जनसामान्यमा पु¥याउने उद्देश्य रहेको बताए।
कार्यक्रममा संघीयता, लोकतन्त्र र गणतन्त्रको सुदृढीकरणका लागि नीति, नेतृत्व र कार्यशैली सुधारको आवश्यकता सबै नेताहरूले औंल्याएका थिए।
प्रतिक्रिया