काठमाडौँ : काठमाडौंमा बिहीबार हुने सत्तारूढ नेकपा एमाले र राजावादी समूहका कार्यक्रमहरूलाई जिल्ला प्रशासन कार्यालयले छुट्टाछुट्टै समय निर्धारण गरेको छ।
प्रशासनले विहान साढे १० बजेदेखि दिउँसो सवा २ बजेसम्म भृकुटीमण्डप क्षेत्रमा एमालेलाई गणतन्त्र दिवसको कार्यक्रम गर्न अनुमति दिएको छ भने त्यसपछि शान्ति वाटिका क्षेत्रमा राजावादी समूहलाई प्रदर्शन गर्न समय दिएको हो।
राजावादीहरू हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको माग गर्दै बिहीबारदेखि अनिश्चितकालीन आन्दोलन घोषणा गरिरहेका छन्। उनीहरूले चैत १५ गतेको प्रदर्शन हिंसात्मक बनाएको स्मरणीय छ। यसैबीच, प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार काठमाडौं केही घण्टा पार्टी नियन्त्रणमा हुने अभिव्यक्ति दिएका कारण सुरक्षा चुनौती थपिएको छ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीका अनुसार, दुबै पक्षका नेतासँगको छलफलपछि समय विभाजन गरिएको हो। यता, काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले शान्ति सुरक्षालाई ध्यानमा राख्दै कडा सुरक्षा व्यवस्था लागू गरिएको बताएका छन्।
राजावादी प्रदर्शन संयोजन गरिरहेको संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदी नेतृत्वमा प्रदर्शनको तयारी तीव्र रहेको छ। राप्रपाले प्रशासनसँग औपचारिक अनुमति नलिए पनि शान्तिपूर्ण रूपमा १२ बजे शान्ति वाटिकामा भेला हुने जनाएको छ।
यसैबीच, राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्रीको अभिव्यक्तिलाई विधिको शासनविपरीत भन्दै आपत्ति जनाएको छ। आयोगले सबैलाई शान्तिपूर्ण अभिव्यक्तिको अधिकार सुनिश्चित गरिनु पर्नेमा जोड दिएको छ। साथै, उत्तेजक अभिव्यक्तिबाट टाढा रहन अपिल गर्दै प्रशासन र सुरक्षानिकायलाई संवेदनशील रहन आग्रह गरेको छ।
चैत १५ को हिंसात्मक घटनामा संलग्न आरोपमा राप्रपाका नेता रवीन्द्र मिश्र, धवलशमशेर जबरा, दुर्गाप्रसाद प्रसाईलगायत ५० जनाविरुद्ध अभियोगपत्र दर्ता गरिएको छ। त्यस्तै, चार जना बालकविरुद्ध बाल अदालतमा मुद्दा दर्ता भएको छ। उक्त घटनामा दुई जनाको मृत्यु र २० जना घाइते भएका थिए।
प्रतिक्रिया