हामीले घोषणा गरेको आन्दोलनको उद्देश्य भनेको राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी, देशमा भ्रष्टाचारको अन्त्य र सुशासनको स्थापना जस्ता जनजीविकासँग सम्बन्धित विषय स्थापित गर्नका लागि हो। तर धेरैको प्रश्न आएको छ जेठ १५ नै किन भनेर।
किनभने गल्ती जहाँबाट भएको छ, जहिलेबाट भएको छ, त्यहीबाट सच्याउनका लागि अर्थात जेठ १५ गते जुन गल्ती भयो, त्यस्तो गल्ती सुधार गराउन यही दिनलाई रोजेका हौं। गणतन्त्र दिवसकै दिन हामीले गणतन्त्र अन्त्यको विषय पनि उठाउन सुरु गरौं भनेर यही मिति रोजेका हौं।
आन्दोलनको स्वरुप पूर्ण रुपले शान्तिपूर्ण हुन्छ। अहिंसात्मक हुन्छ, सत्याग्रहमा आधारित हुन्छ र यसमा कुनैपनि प्रकारका हिंसा भड्काउने खालको काम हाम्रो तर्फबाट हुँदैन्।
नेपालको ठूला ठूला परिवर्तनहरु खासगरि २००७, ०४६, ०६२।६३ सालको आन्दोलन र परिवर्तनको कुरा गर्दा यो तीनै वटा परिवर्तन कुनै चुनावबाट नभएर आन्दोलनबाट नै भएको हो।
आन्दोलन, आन्दोलनपछि सम्झौता र निष्कर्ष भएकाले यस पटक पनि हामीले आन्दोलन र जनदबाबबाट नै राजनीतिक दलहरुलाई खास गरि अहिलेको सत्ता एवम गणतन्त्रका पक्षधरहरुलाई वार्तामा ल्याउने र एउटा सहमतिको बाटोबाटै नयाँ समझदारी कायम गरेर मुलुकमा राजादेखि गणतन्त्रवादीहरु सबै अटाउने मौलिक व्यवस्था निर्माण गर्नका लागि आन्दोलन तय गरिएको हो।
हामीले खोजिरहेको परिवर्तनप्रति उत्साह बढेर गएको छ र देशभरबाट हजारौंका संख्यामा मानिसहरु काठमाडौं आएका छन्। यस्ता संवेदनशिलता र जनताको चाहनालाई सत्तारुढ पक्ष अथवा गणतन्त्रको पक्षधर दलहरुले पनि बुझ्ने छन्। र हिजो भएको गल्ती कमजोरीहरु सच्चाएर नविन समझदारीको लागि तयारी हुँदैछन्।
हिन्दुराष्ट्र कुनै जात विशेषले मान्ने धर्मको कुरा मात्र होइन्। नेपालको एकता र पहिचानसँग सम्बन्धित विषय हो। हिजो हिन्दु राष्ट्र हुँदा कोही मानिस निषेधित थिएनन्। कुनै धर्म, जात, संप्रदायका मानिस उपेक्षित थिएनन्। बरु संरक्षित र सुरक्षित थिए।
पछिल्लो दिनमा धर्मका आन्दोलन जुन जालो अथवा डडेलो बढेर गएको छ त्यो धर्म निरपेक्षताको आडमा नै हो। धर्म निरपेक्षताको आडमा बढेको धर्मान्तरणले अल्पसंख्यकहरु आज असुरक्षित छन्। धार्मिक द्वन्द्वको सम्भावना बढेर गएको छ।
त्यसकारण राज्यको तर्फबाट अल्पसंख्यकहरुको सुरक्षाको सुनिश्चिता गर्दै सर्व धर्मस्वभाव, पूर्ण धार्मिक स्वतन्तत्रा सहितको हिन्दुराष्ट्र हुनुपर्छ। यो सबैको पहिचान र एकतासँग सम्बन्धित विषय हो। यसले कसैलाई निषेध गर्दैन्। राप्रपाको मात्र आन्दोलन भएको भए स्वभाविक रुपमा मैंले नै नेतृत्व गर्थें। म पार्टीको अध्यक्ष भएकाले नेतृत्व मेरो हुन्थ्यो।
तर अहिले धेरै पार्टी शक्तिहरु जसमा विचारमा अलग अलग छौ। सबैको सहमतिमा नै यो आन्दोलनलाई अगाडि बढाइरहेको हुनाले जेष्ठ सदस्यलाई आन्दोलनको नेतृत्व गर्ने र हामीहरु समान हैसियतमा बस्ने निर्णय गरेर अगाडि बढिरहेका छौं।
हामीले घोषणा गरेको शान्तिपूर्ण प्रदर्शनले आवतजावतमा अवरोध गर्छ। केही असर पुर्याउँछ। चारैतिर छरिएर, धेरै ठाउँमा कार्यक्रम गरेर, धेरै अवरोध सृजना गर्नुभन्दा एक ठाउँमा गर्दा कम असुविधा हुन्छ। सोही हिसाबले र सबैले देख्नेगरी रत्नपार्कलाई रोजेका छौं।
आन्दोलनको असफलताको कल्पना गरेका छैनौं
आन्दोलनमा हामीले चाहे जस्तो भए वा हामीले परिकल्पना गरेजस्तो भयोभने एकै दिनमा निष्कर्षमा पुग्न सकिन्छ। तर हामीले परिकल्पना गरेजस्तो जनसहभागिता भएन भने, दबाब सृजना गर्न सकेनौं भने आगामी आन्दोलनको वातावरण बन्छ। यसमा निराश हुनुपर्ने र इमेज खत्तम भयो भन्ने कुरा हुँदैन।
यो निरन्तर प्रक्रिया हो। तर हामी विश्वस्त छौं। २५ औं हजार मानिसहरु उपत्यका बाहिरबाट काठमाडौं भित्रिसकेकाले उत्साह थपेको छ। काठमाडौं उपत्यकाकै मानिसहरुमा पनि उत्साह देखिरहेको छौं। त्यसले पनि परिवर्तन चाहिँ सम्भव छ।
गत चैत्र १५ गतेको घटनालाई पनि हामीले विभिन्न कोण वा हिसाबले आफ्नो कुराहरु राखिरहेको छौं। एउटा त त्यो हिंसा भड्काउनुमा सरकार नै जिम्मेवार थियो। र सरकारले संयमता नअपनाउँदा त्यो हिंसा भएको हो। त्यति ठूलो क्षति व्यहोर्नु पर्यो।
दुइ जना मानिसको ज्यान गयो। कयौं घाईते भए। भौतिक क्षतिहरु भयो। त्यो दुर्भाग्यपूर्ण हो। यसमा सरकार नै जिम्मेवार छ। सरकारले नै यो हिंसा भड्काएको हो भन्ने हाम्रो दाबी छ। तर सरकार पक्ष भन्छ। प्रदर्शनकारीहरु हिंस्रक भए। यसमा सत्यतथ्य छानबिन हुन आवश्यक छ। त्यसका लागि निष्पक्ष छानबिन गर्न न्यायिक आयोग गठन गर्न जरुरी छ।
थुनामा परेका मानिसहरुको बारेमा राष्ट्रिय प्रजातन्त्र पार्टीले रिहाइको माग राखेको छ। छानबिनपछि जे टुंगो लाग्छ, जो दोषी हुन्छ। त्यसलाई कारबाही गर्नुपर्छ भनेर प्रारम्भमा नै भनेका छौं। यसका लागि दबाबपूर्ण कार्यक्रमहरु पनि आयोजना गर्यौं। न्यायिक लडाईँमा थुनामा रहेका साथीहरुका पक्षमा सहयोग गरिराखेका छौं।
यतिबेला देश एउटा विशिष्ट अवस्थामा पुगेको छ। हामीले पछाडि फर्कने कुरा गरेका छैनौं। तर देश अब यही रहिराख्ने अवस्थामा चाँही छैन्। सरकार यथास्थितिको कुरा गरिराखेको छ। अहिले ठिक छ यही नै ठिक छ र काम नै ठिक छ भनिरहेको छ।
यही बाटोबाट नै देशले विकासको निकास प्राप्त गर्छ भन्ने उहाँहरुको ठम्याई छ। तर देश विशिष्ट अवस्थामा छ। हालकै अवस्थामा रहने अवस्था छैन्। देशले एउटा परिवर्तन खोजेको छ। यही नेतृत्व र यही नेतृत्वले ल्याएको यो व्यवस्थाबाट देशले निकास पाउने र परिवर्तन सम्भव छैन्। त्यसैले व्यवस्था परिवर्तन जरुरी छ।
गृहमन्त्रीको राजीनामा भनेको नैतिकताको कुरा हो
गृहमन्त्री राजीनामाको प्रसंग संसारभर रहेको प्रचलन हो। धेरै अगाडि नेपालमा नैतिकताका कुराहरु थिए। यो विषय नैतिकतासँगर निष्पक्षतासँग पनि जोडिएको विषय छ। उहाँकै अन्तर्गत र उहाँले नै सरुवा गरेर जिम्मेवारी दिएको मानिस अनुसन्धानको दायरामा आइसकेपछि र कतिपय सन्दर्भमा उहाँको समेत नाम आइसकेपछि गृहमन्त्रीले राजीनामा दिने र अनुसन्धानलाई सहयोग गर्ने हो।
अहिले उहाँको विषयमा अनुसन्धान गर्नुपर्यो भने कसले गर्ने, गर्ने भनेको प्रहरीले हो। तर उहाँ आफैं सम्बद्ध रहेको प्रहरीले कसरी अनुसन्धान गर्छ। अनुसन्धान प्रभावित नहोस् भन्नको लागि राजीनामाको कुरा उठाएका हौं। अनुसन्धानबाट सत्थतथ्य सार्वजनिक हुनदिनु राम्रो हुन्छ भनेर राजीनामा दिन भनेका हौं। अनुसन्धालाई मद्दत गर्न र निष्पक्ष तरिकाले छानबिन गरेपछि निर्दोष प्रमाणित भयो भने फेरि गृहमन्त्री हुने हो।
(कुराकानीमा आधारित)
प्रतिक्रिया