इलाममा सकारात्मक सोच प्रशिक्षण र बृद्धबृद्धालाई सम्मान गरिने

विहीबार, १५ जेठ २०८२

इलाम : इलाम नगरपालिका–७ मा सकारात्मक सोच अभिवृद्धि गर्ने उद्देश्यसहित पाँचदिने प्रशिक्षण कार्यक्रम सञ्चालन हुने भएको छ। वडा कार्यालयले ब्रह्माकुमारी राजयोग इलामसँगको सहकार्यमा जेठ १६ गतेदेखि २० गतेसम्म प्रशिक्षण सञ्चालन गर्ने जनाएको छ।

राजयोग प्रशिक्षक राजु घलेले तीन सिफ्टमा प्रशिक्षण दिने कार्यक्रम तय गरिएको वडा कार्यालयले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो। वडाध्यक्ष नरेश श्रेष्ठका अनुसार गत वर्ष पनि सात दिने कक्षा सञ्चालन गरिएको अनुभवका आधारमा यस वर्ष पुनः कार्यक्रम दोहोर्याइएको हो।

वडाध्यक्ष श्रेष्ठले भने, "मोबाइलको अत्यधिक प्रयोग, कामको चाप र जीवनशैलीजन्य तनावबाट प्रभावित नागरिकलाई लक्षित गरी यो कार्यक्रम ल्याइएको हो।" उनका अनुसार व्यापारी, गृहिणी, विद्यार्थीदेखि विभिन्न पेशामा संलग्न व्यक्तिहरूलाई प्रशिक्षणमा सहभागी गराइनेछ।

यस कार्यक्रमसँगै वडा भित्र रहेका ७५ वर्ष उमेर नाघेका अग्रज नागरिकलाई सम्मान गर्ने निर्णय पनि गरिएको छ। जेठ २० गते विशेष समारोहका बीच ७५ वर्षमाथिका ५१ जना बृद्धबृद्धालाई सम्मान गरिने वडाध्यक्ष श्रेष्ठले जानकारी दिए।

"अग्रजको सम्मान गरे मात्र नयाँ पुस्ताले पनि सम्मानको संस्कार सिक्छ," वडाध्यक्ष श्रेष्ठले भने, "यस कार्यक्रममार्फत् हामी सकारात्मक सोचको विकाससँगै सामाजिक सद्भाव र मूल्यको प्रवर्द्धन गर्न चाहन्छौं।"

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार