वरीयता मिचेर ठाडा मगर सशस्त्र प्रहरी एआईजीमा बढुवा सिफारिस

विहीबार, १५ जेठ २०८२

काठमाडौँ : सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाको सिफारिस गर्दा वरीयतालाई बेवास्ता गरिएको छ।

वरीयता क्रममा पहिलो स्थानमा रहेका डीआईजी कमल गिरीलाई छाडेर दोस्रो नम्बरमा रहेका गणेश बहादुर ठाडा मगरलाई एआईजीमा बढुवा सिफारिस गरिएको हो।

बिहीबार गृह मन्त्रालयका सचिव गोकर्णमणि दवाडीको अध्यक्षतामा बसेको बढुवा समितिले ठाडा मगरलाई एआईजी पदमा बढुवा सिफारिस गरेको हो।

सशस्त्र प्रहरीका तत्कालीन एआईजी चन्द्रप्रकाश (सिपी) गौतम वैशाख २ मा अवकाश प्राप्त गरेपछि रिक्त रहेको पदमा डेढ महिनापछि बढुवाको निर्णय भएको हो।

वैशाख १४ मा प्रकाशित सूचनाअनुसार एआईजीका लागि आठ जना डिआइजीहरूले दरखास्त दिएका थिए। तीमध्ये कमल गिरी, शम्भु सुवेदी, कुलबहादुर नेम्वाङ, लक्ष्मण सिंह र प्रदीप कुमार पाललाई उछिन्दै ठाडा मगरलाई सिफारिस गरिएको हो।

त्यस्तै,सशस्त्र प्रहरी बल स्थापनाको पहिलो टोली सिसम–१ का सदस्य सुरेश श्रेष्ठ र अन्जनी कुमार पोखरेलले समेत फारम बुझाए पनि उनीहरू समेत पदोन्नतिको दौडबाट पछि परेका छन्।

यस सिफारिससँगै ठाडा मगर नेतृत्व तहमा पुग्ने निश्चित भए पनि अन्य वरिष्ठ अधिकृतहरूको सम्भावना कमजोर देखिएको छ। वरीयता मिचिँदा बढुवा प्रक्रिया निष्पक्ष नभएको भन्दै संस्थाभित्रै असन्तुष्टि देखिन थालेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार