इटहरी : इटहरी उपमहानगरपालिकाका नगर प्रहरी जमदार राजकुमार तामाङको हर्ट अट्याकका कारण ५१ वर्षको उमेरमा निधन भएको छ। उपमहानगरपालिकाले आज शोक बिदा दिएको छ।
तामाङको इटहरी उपमहानगरको स्थापना कालदेखिको योगदान उल्लेखनीय रहँदै आएको थियो।
२६ वर्षअघि तत्कालीन नगरप्रमुख सर्वध्वज सावाको कार्यकालमा वारुणयन्त्रको सिपाही पदमा नियुक्त भएका उनी हाल जमदार पदमा कार्यरत थिए। वडा नं. ३ निवासी तामाङका तीन छोराहरू छन्।
नगर प्रहरी वारुणयन्त्र विभागका प्रमुख जेबी राईका अनुसार तामाङ प्रेसरका दीर्घ रोगी थिए। तर औषधि सेवन प्रक्रिया अव्यवस्थित भएकाले हर्ट अट्याक भएर निधन भएको बताइएको छ।
गएको १३ गते दिउँसो बिरामी भएपछि उनलाई विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको थियो, जहाँ उपचारको क्रममा उनको निधन भएको हो।
उपमहानगरले तामाङको योगदानको कदर गर्दै आज शोक बिदा दिएको जनाएको छ।
यसैबिच उपमहानगर कार्यालयमा हाजिर भएर मृतक प्रति शोक सलामी अर्पण गर्दै बिदा दिइने नगरप्रमुखको सचिवालयले जनाएको छ।
प्रतिक्रिया