नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालयबीच शैक्षिक तथा अनुसन्धान सहकार्यको समझदारी

शुक्रबार, १६ जेठ २०८२

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालयबीच शैक्षिक क्षेत्रको विकास, अनुसन्धान, सीप विकास तथा रोजगारी प्रवर्द्धनका विषयमा सहकार्य गर्ने समझदारी बनेको छ। महासंघको सचिवालयमा भएको भेटवार्तामा उक्त विषयमा गहिरो छलफल गरिएको हो।

भेटमा विश्वविद्यालयका विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान, उद्योग-व्यवसायका लागि आवश्यक सीप विकास, र रोजगारीका अवसर सिर्जना गर्ने विषयमा सहयोग गर्ने विषयमा दुबै पक्ष सहमत भएका छन्। त्यस्तै, पाठ्यक्रम विकास, तालिम कार्यक्रम सञ्चालन तथा संयुक्त परियोजनाको सम्भाव्यता अध्ययनमा समेत सहकार्य गरिनेछ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले यो सहकार्यले निजी क्षेत्र र शैक्षिक संस्थाबीचको दूरी कम हुने विश्वास व्यक्त गरे। “उद्योग–व्यवसायले चाहेको दक्ष जनशक्ति उत्पादन गर्न र युवालाई रोजगारीका अवसर दिन यो सहकार्य फलदायी हुनेछ,” अध्यक्ष ढकालले भने, “यस्ता सहकार्यका लागि महासंघ सकारात्मक छ।”

नेपाल विश्वविद्यालयका कुलपति डा. विन्दुनाथ लोहनीले सहकार्यले नेपालको शैक्षिक प्रणालीलाई विश्व बजारसँग जोड्न मद्दत गर्ने बताए। “हामी विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीप र उद्यमशीलताको भावना प्रदान गर्ने लक्ष्यमा छौं,” उनले भने, “महासंघसँगको सहकार्यले उक्त लक्ष्य पूरा गर्न मद्दत गर्नेछ।”

त्यस्तै, विश्वविद्यालयका उपकुलपति डा. अर्जुन कार्कीले सीपयुक्त, दक्ष र गुणस्तरीय जनशक्ति उत्पादन विश्वविद्यालयको प्रमुख उद्देश्य भएको उल्लेख गर्दै त्यसका लागि निजी क्षेत्रसँग सहकार्य अनिवार्य रहेको बताए।

भेटमा दुवै पक्षले संयुक्त अनुसन्धान, नवप्रवर्तन, उद्यमशीलता प्रवर्द्धन, विद्यार्थीका लागि इन्टर्नशिप तथा रोजगारी सिर्जनामा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार