करोडौँको सरकारी भवन प्रयोगविहीन, भाडाको घरमा गाउँपालिका

मंगलबार, १३ साउन २०८२

सिरहा : जिल्लाको विष्णुपुर गाउँपालिका – १ गौरीपुरस्थित लक्ष्मीनियाँधार किनारमा निर्माण गरिएको करोडौँ लगानीको ‘विष्णु भवन’ वर्षौंदेखि प्रयोगविहीन अवस्थामा छ । वृद्धाश्रम सञ्चालनको उद्देश्यले करिब तीन करोडमा बनेको उक्त भवन अहिले जर्जर बन्दै गएको छ ।

भवन निर्माणका लागि सुरुमा दुई करोड ५० लाखको बजेट ल्याइएको थियो भने ठेक्का सम्झौता दुई करोडमा गरिएको थियो । पछि भान्साघर निर्माणका लागि थप एक करोड खर्च भएको पूर्ववडाध्यक्ष गोविन्द्र यादवले जानकारी दिए । 

उनले भनेका छन्,“मैले जुन उद्देश्यले भवन बनाएको थिएँ, त्यो हुन नसके पनि अहिले कम्तीमा पालिकाको कार्यालय चलाउँदा भवनको सुरक्षा र सरकारी रकमको बचत हुन्थ्यो ।” २४ वटा कोठा, छुट्टै भान्साघर र आवश्यक पूर्वाधार रहेको सो भवनको झ्याल, ढोका, शौचालयमा क्षति हुन थालेको छ ।

स्थानीय नागेश्वर यादवले भने,“सरकारी रकमले बनेको भवन यतिकै अलपत्र छ, तर पालिकाले लाखौँ तिरेर भाडामा बसिरहेको छ ।”

गाउँपालिकाका लेखा सहायक गङ्गाप्रसाद यादवका अनुसार पालिकाले हाल चारवटा छुट्टाछुट्टै भवन भाडामा लिएको छ, जसमा वार्षिक १२ लाखभन्दा बढी खर्च भइरहेको छ । पालिका अध्यक्ष सत्यनारायण यादवले भवनमा प्राविधिक शिक्षालय सञ्चालन गर्ने पहल गरिरहेकाले सिटिइभिटीसँग समन्वय भइरहेको जानकारी दिए ।

तर, अन्य जनप्रतिनिधिले अध्यक्षको भनाइ भ्रम छर्ने प्रयास मात्र भएको आरोप लगाएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार