झापा । खोकीको औषधि भन्दै श्रीमतीलाई विष खुवाएर मार्न खोज्ने झापामा एक व्यक्ति पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सप्तरी शम्भुनाथ नगरपालिका वडा नं. २ घर भई हाल दमक वडा नं. १ सुम्निमा टोलमा डेरा गरी बस्ने २५ वर्षीय दिलीपकुमार मरिक डोम रहेका छन् ।
गत चैत १० गते बिहान ८ बजे डोमले आफ्नै श्रीमती रेनु मरिकलाई विष सेवन गराई ज्यान मार्न खोजेका थिए । उनले खोकी लागेका बेला कफ सिरप भनेर श्रीमतीलाई विष खुवाउन खोजेको बताइएको छ ।
यसअघि पनि श्रीमानले आफूलाई आगो लगाई मार्न खोजेको रेनुले बयान दिएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी रामप्रसाद तिम्सिनाले जानकारी दिए । उनीहरूका एक छोरा र एक छोरी रहेका छन् ।
घटनापछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीबाट खटिएको प्रहरी टोलीले आइतबार कल्याणपुरबाट पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी ज्यान मार्ने उद्योग मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिए ।
प्रतिक्रिया