सहमतिअनुसार सवारी नचलाएर यातायात व्यवसायीले गल्ती गरे - मन्त्री दाहाल

मंगलबार, २० जेठ २०८२

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरूले सार्वजनिक यातायात बन्द गरेर राख्नु गलत भएको बताएका छन्। सोमबार राति सरकार र यातायात व्यवसायीबीच सहमति भइसकेपछि पनि हालसम्म यातायात सञ्चालनमा नआएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन्।

मन्त्री दाहालका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गण्डकी प्रदेशलाई पत्र गएपछि मात्रै यातायात सञ्चालन हुन्छ भन्ने जस्ता यातायात व्यवसायीका तर्कहरू गलत छन्। यातायात व्यवसायीहरू सवारी ऐन २०४९ को दफा ८ (२) र दफा १२ (१) विपरीत हुने गरी संघीय ऐनसँग बाझिने नियमावलीहरू प्रदेश सरकारहरूले ल्याउने तयारीमा रहेकाले र गण्डकी प्रदेश सरकारले जेठ १ गते राजपत्रमा प्रकाशित गरेको निजी सवारीसाधन (रातो प्लेट) सञ्चालन गर्न ल्याएको नियमावली २०८२ को दफा २ (ज) तत्काल खारेजीको माग गर्दै आन्दोलन गर्दै आएका छन्।

मन्त्री दाहालले प्रदेशको अधिकारको हनन हुने खालको सम्झौता केन्द्र सरकारले नगरेको स्पष्ट पारेका छन्। उनले केही सवारी तथा सार्वजनिक यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अन्तिम अवस्थामा पुगेको र बाँकी कुराहरू सोही विधेयकमार्फत सम्बोधन हुने बताए। उनले जिम्मेवार भएर सहमतिअनुसार यातायात सञ्चालन गर्न आग्रह गरेका छन्।

"यातायात व्यवसायीहरूको सन्दर्भमा गत रातिमात्रै एउटा सम्झौता भयो। हामीले प्रदेशको अधिकारको हनन हुने खालको सम्झौता गरेका छैनौँ," मन्त्री दाहालले भने, "अहिले हामी केही सवारी तथा सार्वजनिक यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अन्तिम अवस्थामा पुर्‍याएका छौँ। यसले ती कुराहरू सम्बोधन गर्ने हाम्रो तयारी रहेको छ।"

उनले थपे, "त्यो कानुन नआउन्जेलसम्म वा त्यो कानुन अघि आएपछि मात्रै तलका प्रदेशहरूले कानुन बनायो भने सहज हुन्छ भन्ने हिसाबले अहिलेलाई (नियमावली) स्थगित राखिदिनुस् भनेर अनुरोध गरेका हौँ। राइड सेयरिङको कुरा छ। यसलाई कसरी अघि बढाउने, काम त भइरहेको नै छ, जनताले सुविधा पनि पाइरहेका छन्। तर त्यसलाई नियमन त गर्नुपर्छ नि, राज्यको दायरामा त ल्याउनुपर्‍यो नि।"

मन्त्री दाहालले राज्यको दायरामा ल्याउन कानुन र नियमावली बनाउनुपर्ने र त्यसलाई संघीय कानुनमार्फत नै व्यवस्थित गर्न खोजिएको बताए। उनले यातायात व्यवसायीहरूले अहिले गण्डकी प्रदेशलाई अनुरोध गर्ने र आन्दोलन स्थगित गर्ने तथा पछि संघीय कानुनबाट व्यवस्थित गरिसकेपछि अघि बढ्ने समझदारी भएको स्पष्ट पारेका छन्।

"यातायात बन्द गर्ने सन्दर्भको कुराहरू गलत छ, ठीक छैन," मन्त्री दाहालले भने, "किनभने नेपालमा यातायातको क्षेत्रमा निजी क्षेत्रले मात्रै सञ्चालन गरेको छ। साझा यातायात सहकारीमार्फत सञ्चालन भएको छ। त्यो शतप्रतिशत निजीले सञ्चालन गरेको हो। यो कुरामा जिम्मेवार भएर बढ्नुपर्छ। बन्द गर्ने कुरा र जनतालाई दुःख दिने काम उहाँहरूले गर्नु हुँदैन।"

मन्त्री दाहालले यातायात व्यवसायीहरूलाई बन्द गरिरहेका यातायातहरू तत्काल सञ्चालन गर्न आग्रह गरेका छन्। उनले केही सवारी तथा सार्वजनिक यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबाट राइड सेयरिङलाई पनि राज्यको दायराभित्र ल्याउने बताए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार