काठमाडौं : रोटरी ई क्लब अफ डिष्ट्रिक्ट ३२९२ तथा रोटा किड्स अफ रोटरी ई क्लबको संयुक्त पदस्थापन समारोह काठमाडौंको इन्द्रेणी सुइट होटलमा सम्पन्न भएको छ।
विशेष समारोहका बीच रोटरी ई क्लबकी नवनियुक्त अध्यक्ष कन्चन तामाङ र रोटा किड्सका नवनियुक्त अध्यक्ष सम्यक राज श्रेष्ठले रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानका गभर्नर इलेक्ट विष्णु बहादुर कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए।
सो अवसरमा निवर्तमान अध्यक्षहरू राज श्रेष्ठ र आरभ श्रेष्ठलाई सफल कार्यकालका लागि प्रशंसा पत्र प्रदान गरियो। क्लबको पहिलो महिला अध्यक्षको रूपमा पदभार सम्हालेकी कन्चन तामाङले ‘रोटरी फर हर’ लाई आफ्नो कार्यकालको मूल मन्त्र बनाउँदै महिलालाई केन्द्रमा राखेर समाजमा सकारात्मक योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरिन्।
भर्चुअल माध्यमबाट सञ्चालन हुने नेपालको पहिलो रोटरी ई क्लब भएकाले अध्यक्ष पदभार ग्रहण पनि भर्चुअल रूपमा गरिएको थियो। समारोहमा निवर्तमान अध्यक्ष राज श्रेष्ठले कार्यकाल सफल बनाउन सहयोग गर्ने सदस्यहरूलाई धन्यवाद दिँदै स्मिता प्रधान र कविन्द्र नापितलाई विशेष योगदानका लागि प्रशंसा पत्र प्रदान गरे। कार्यक्रममा रोटा किड्सका संस्थापक अध्यक्ष अनिल श्रेष्ठले रोटा किड्सको पृष्ठभूमि र उद्देश्यबारे प्रकाश पारेका थिए।
कार्यक्रमको स्वागत मन्तव्य प्रेसिडेन्ट इलेक्ट संजिव उदासले राखेका थिए भने समापन धन्यवाद ज्ञापन क्लबका भाइस प्रेसिडेन्ट कविन्द्र नापितले गरेका थिए। कार्यक्रममा डिष्ट्रिक्टका पूर्व गभर्नरहरू, असिस्टेन्ट गभर्नरहरू तथा प्रतिष्ठित रोटरियनहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया