काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि सरेको छ । आज बिहान ११ बजेदेखि बस्ने भनिएको बैठक सभामुख विपक्षी दलहरूसँग छलफलमै रहेकाले २ बजेसम्मका लागि सारिएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहित विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग राख्दै संसद् अवरोध गरिरहेका छन् । संसद्को अवरोध खुलाउने प्रयास भए पनि विपक्षीदलहरु आफ्नो अडानमा कायम रहेका छन् ।
सभामुख देवराज घिमिरे अहिले प्रमुख चार दलका प्रमुख सचेतक र मुख्य सचेतकसँग छलफल गरिरहेका छन् ।
यसअघि आज बिहान बसेको विपक्षी दलहरूको बैठकले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाएर अनुसन्धान गर्ने, गृहमन्त्रीले राजीनामा दिने र प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने तीन माग अगाडी सारेका छन् ।
प्रतिक्रिया