मोरङ प्रहरीले अनुसन्धान गरिरहेको थुनुवाको उपचारका क्रममा मृत्यु

मंगलबार, २० जेठ २०८२

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गरिरहेका १ जना थुनुवाको उपचारका क्रममा मङ्गलवार बिहान मृत्यु भएको छ । 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार अभद्र व्यवहार मुद्दाको अनुसन्धानका क्रममा हिरासतमा रहेका झापाको दमक नगरपालिका–१ का २८ वर्षीय पुण्यबहादुर श्रेष्ठको मृत्यु भएको हो । श्रेष्ठको उपचारका क्रममा विराटनगरको कोशी अस्पतालमा मृत्यु भएको जानकारी जोशीले दिए । 

प्रहरीले श्रेष्ठविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन जेठ १५ गते म्याद थप गरेर अनुसन्धान सुरु गरेको थियो । म्याद थप भएयता उनी मोरङ प्रहरीको हिरासतमा थिए । डीएसपी जोशीका अनुसार एक्कासि ज्वरो आउने, पेट दुख्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि बिहान ९ः२० बजेतिर उपचारका लागि कोशी अस्पताल लगिएको थियो ।

श्रेष्ठको उपचारकै क्रममा ११ः३० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ । हिरासतमै रहेका बेला बारम्बार बिरामी पर्ने गरेपछि यसअघि पनि प्रहरीले उनलाई उपचारका लागि अस्पताल लगेको थियो । प्रहरीका अनुसार लागुऔषध सेवनकर्तासमेत रहेका श्रेष्ठ लामो समयदेखि परिवारको सम्पर्कमा नरहेको पत्ता लागेको छ । उनी आपराधिक पृष्ठभूमिका व्यक्तिसमेत हुन् । 

डीएसपी जोशीका अनुसार यसअघि श्रेष्ठविरुद्ध विभिन्न प्रहरी कार्यालयबाट ४ पटक मुद्दा चलिसकेको रेकर्ड प्रहरीसँग छ । सुनसरीको इलाका प्रहरी कार्यालय इटहरी, झापाको इलाका प्रहरी कार्यालय दमक, मोरङको इलाका प्रहरी कार्यालय पथरी र जिल्ला प्रहरी कार्यालय मोरङबाट उनी विरुद्ध यसअघि मुद्दा चलिसकेको थियो । डीएसपी जोशीले यसअघि ३ पटक लागुऔषध ऐन र १ पटक अभद्र व्यवहारअन्तर्गतको मुद्दा चलेको बताए । 

जोशीले भने, ‘यसअघि ४ पटक मुद्दा चलिरहेको रहेछ । अहिले पाँचौँ पटक मुद्दा चलाउन अनुसन्धान जारी रहेका बेला बिरामी परेर अस्पताल भर्ना गरेर उपचार जारी रहेका बेला श्रेष्ठको मृत्यु भयो ।’ पछिल्लो पटक विराटनगरमै साइकल चोरी गर्न खोजेपछि उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएको थियो । साइकल चोरी गर्न खोजेको देखी साइकलका धनी पुग्दा हातपात र दुर्व्यवहार गरेको भनेर किटानी जाहेरी परेपछि पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएको प्रहरीको भनाइ छ । 

शवलाई कोशी अस्पतालमै राखिएको छ । मृतकका आफन्तलाई खबर भइसकेको र उनीहरू आइसकेपछि थप प्रक्रिया अघि बढ्ने डीएसपी जोशीले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार