सर्लाही : सर्लाही जिल्लामा नेपाली कांग्रेसका नेताहरू लगातार आक्रमणको सिकार भइरहेका छन्। पछिल्ला केही दिनमा काँग्रेस नेताहरूमाथि भएका आक्रमणपछि काँग्रेसले स्थानीय प्रशासनको भूमिकामाथि प्रश्न उठाउँदै दोषीलाई कारबाही नगरे सशक्त आन्दोलनको चेतावनी दिएको छ।
जेठ ७ गते रामनगर गाउँपालिकाका लागि काङ्ग्रेसबाट प्रमुख पदका उम्मेदवार रहेका हरिनन्दन प्रसाद यादवमाथि गोडैतास्थित हुलाकी सडकमा आक्रमण भयो। मलंगवाबाट घर फर्किँदै गरेका यादवलाई भारतीय नम्बर प्लेट भएका तीन वटा गाडीमा आएका १५–१६ जनाको समूहले आक्रमणको प्रयास गरेका थिए। यादव चढेको गाडीलाई रोक्न खोजिएको थियो तर उनी भागेपछि २–३ किलोमिटरसम्म पिछा गरेर वगदह चिनी मिल नजिक गाडी रोकी तोडफोड तथा कुटपिट गरिएको काँग्रेसले जनाएको छ। अपराधीहरूको पहिचान भइसकेको दाबी काँग्रेसले गरे पनि प्रशासन मौन रहेको आरोप छ।
यसको दुई दिनपछि, जेठ ९ गते सङ्घीय गृहमन्त्री रमेश लेखकको कार्यक्रम सकेर फर्किँदै गरेका काँग्रेस प्रदेश उप–सभापति तथा संसदीय दलका उप–नेता वीरेन्द्र प्रसाद सिंहमाथि पनि आक्रमण प्रयास भयो। ब्रह्मपुरी गाउँपालिकाको मेल्ही नजिक राति करिब १०ः३० बजे भारतीय नम्बर प्लेट भएका दुईवटा नेक्सन गाडीमा आएका व्यक्तिहरूले सिंह सवार गाडी हो भनी पूर्व अर्थमन्त्री सञ्जय कुमार यादवको गाडीमाथि आक्रमण गर्न खोजे।
पूर्व अर्थमन्त्रीको अङ्गरक्षकको प्रतिवादपछि र सिंह गाडीमा नभएको थाहा पाएपछि मात्र उनीहरूले गाडी छोडेका थिए। घटनामा प्रयोग भएका गाडीको नम्बर र भिडियो क्लिपसहितको जानकारी तत्काल जिल्ला प्रहरी कार्यालयमा दिइएको भए पनि अहिलेसम्म कारबाही नहुनु काँग्रेसको गुनासो छ।
यी शृङ्खलाबद्ध घटनाबाट सर्वसाधारण त्रासमा रहेको र अपराधीहरू खुलेआम हिँडिरहेका कारण शान्ति सुरक्षाको अनुभूति नहुनु चिन्ताको विषय बनेको काँग्रेसको ठहर छ। जिल्ला सचिव नीरज कार्की र क्षेत्र नं. ४ का सभापति राम आश्रय साहले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै घटनाको कडा भर्त्सना गरेका छन्। उनीहरूले सरकारसँग दोषीलाई तत्काल कारबाही गर्न र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेका छन्।
काँग्रेसले अब यस्ता आक्रमण सहन नसकिने भन्दै प्रशासनले कारबाही नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ। साथै, त्यसको सम्पूर्ण जिम्मेवारी स्थानीय प्रशासनले लिनुपर्ने जनाएको छ।
प्रतिक्रिया