बलान नदीको कटानले सुन्दरपुर र इस्लामपुर बस्ती जोखिममा, ७५ घरधुरी संकटमा

आइतबार, १८ साउन २०८२

सिरहा : सिरहाको लहान नगरपालिका–४ स्थित बलान नदीको तीव्र कटानले सुन्दरपुर र इस्लामपुरका मुस्लिम बस्तीहरू डुबानको गम्भीर जोखिममा परेका छन्। नदीको बाढीले कटान बढाउँदै लगेपछि सुन्दरपुरका ४५ र इस्लामपुरका ३० घरधुरी प्रत्यक्ष जोखिममा परेका स्थानीयले बताएका छन्।

शनिबार रातिदेखिको अविरल वर्षाले नदीमा पानीको सतह बढेपछि कटान झन तीव्र बनेको हो। स्थानीयवासीका अनुसार नदी र बस्तीको दूरी अब पाँच मिटर मात्र बाँकी रहेको छ। झुपडीसहितको बस्ती नदीको किनारमै रहेकाले साना बालबालिका र वृद्धबृद्धासहितको जनजीवन त्रासमा बितिरहेको छ।

स्थानीय मेहम्मद हुसेन अन्सारीले भने, “हिजो रातभर खोला हेर्दै बस्यौं, निदाउनै सकेनौं। चार वर्षदेखि यो समस्या झेल्दै आएका छौं, समाधान छैन।” त्यस्तै, इस्लामपुर निवासी मोहम्मद एफ्रोजले आफ्नो घर नदीको मुखमै रहेको भन्दै बाढीको त्रासले सुत्न नसकिएको गुनासो गरे। “साना बच्चा छन्, कहाँ जानु? रातभर मदरसामा बसेर बिताउनु परेको छ,” उनले भने।

पछिल्लो वर्ष पनि यस्तै बाढीको जोखिममा परेका बस्तीहरूलाई नगरपालिकाले तीन दिन सुरक्षित स्थानमा सारेर व्यवस्थापन गरेको थियो। तर स्थायी समाधान नहुँदा समस्या दोहोरिएको छ।

वडाध्यक्ष रामनाथ पण्डितका अनुसार जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सिरहाबाट विनियोजित २५ लाखको बजेटमध्ये १५ लाख बराबरको काम मात्र सम्पन्न भएको छ। “असारको अन्त्यतिर हतार–हतारमा काम सुरु भयो, ठेकेदारले बीचमै छोडेर गएपछि बाँकी बजेट फिर्ता भयो,” उनले बताए।

नदी नियन्त्रणका लागि गरिएको काम अपूरो र अपर्याप्त भएको भन्दै उनले तत्काल हस्तक्षेप आवश्यक भएको बताए। यदि बलान नदीको कटान रोक्न नसकिएमा नजिकैको पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको पुल पनि जोखिममा पर्ने स्थानीयको चिन्ता छ।

नगरप्रमुख महेशप्रसाद चौधरीले भने विपद् व्यवस्थापन कार्यक्रममार्फत केही रकम जुटाएर राहतको व्यवस्था गरिने जानकारी दिएका छन्। “बाढीले क्षति ल्याउने अवस्था आएमा मानवीय आधारमा बस्ती सार्ने तयारी छ। प्रदेश र संघ सरकारसँग समन्वय गरेर दीर्घकालीन समाधानका लागि पहल गरिरहेका छौं,” उनले भने।

स्थानीयवासीले भने बलान नदी नियन्त्रणलाई दीर्घकालीन योजनामा समेट्न माग गरेका छन्। बाढीले वर्षेनी जनधनको क्षति गराइरहँदा सरकारले गम्भीर ध्यान नदिएको गुनासो बढ्दो छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार