सर्वसाधारण भन्छन् ः निर्मलाको हत्या गर्नेको आत्माले कहिल्यै शान्ति पाउँदैन

मंगलबार, २७ जेठ २०८२

काठमाडौँ । ‘न्याय नपाए गोर्खा जानु’ भन्ने भनाइ नेपाली समाजमा अहिले पनि विद्यमान छ । तर वर्तमान परिदृश्यमा उक्त भनाइ कति सान्दर्भिक र व्यवहारिक छ भनेर मूल्याङ्कन गर्न निर्मला पन्त प्रकरणलाई हेरे पुग्छ । 

अन्यायमा परि न्यायको आसमा जीवन व्यथित गरिरहेका कयांै घटना छन् । ति घट्नाहरुबाट गोर्खा जाने प्रसङ्गसँग मेल खाँदैन् । यस्तै एउटा बिर्सिनै नसक्ने घटना हो निर्मला पन्त हत्या प्रकरण । 

२०७५ साल कञ्चनपुरको भीमदत्त नगरपालिका—२ मा १३ वर्षीया निर्मला पन्तको बलात्कार गरी हत्या गरिएको थियो । उक्त घटनालाई लिएर न्यायको आशामा देशभरका जनताले आवाज उठाएका थिए । आज सात वर्ष पुग्दा पनि ती आवाज सम्बन्धित निकायले सुन्न नसकेको सर्वसाधारण बताउँछन् । 

सरकारले निर्मलालाई बिर्सेपनि आफूले बिर्सिन नसकेको भन्दै यस विषयमा एकोहोरो लाग्नुपर्ने गृह मन्त्रालयले बेवास्ता गरिरहेको कानुनका विद्यार्थी अजय पौडेल बताउँछन् । उनले सरकार परिवर्तन भइरहने खेलले गर्दा पनि यसको टुङ्गो लाग्न नसकेको बताए । 

‘सरकार स्थिर हुन सकेको छैन । सरकार परिवर्तन भइरहेको छ । सरकार स्थिर भएको भए एउटा निर्णय हुने थियो । त्यस बेला गृहमन्त्रीले राजीनामा दिनपर्‍यो भन्ने खालका कुराहरू आएका थिए तर नेताहरूले भन्ने एउटा र गर्ने अर्को रहेको छ । त्यसैले निर्मला हत्याकाण्डमा न्याय दिन नसक्नु भनेको न्यायको बहिष्कार गरे सरह नै हो । यस विषयमा गृह मन्त्रालय एकोहोरो लाग्नुपर्ने हो तर बेवास्ता गरिरहेको छ,’ उनले भने । 

लामो समय बितिसक्दा पनि निर्मला जस्तै अरू थुप्रै किशोरीहरूले न्याय पाउन नसकेको भन्दै अझै सरकारप्रति आशा जीवित रहेको सल्लु तिवारी बताउँछिन् । 

उनले भनिन्, ‘न्याय त पाउनुपर्ने हो तर न्याय पाउन नसक्नु दुर्भाग्यजस्तो लाग्छ । प्रमाण नै नष्ट गरिसकेको हो कि । निर्मला जस्तै अरू थुप्रै यस्ता केसहरू छन् कसैको पनि पहिचान खुलाउन सकेको छैन । तर पनि सरकारप्रति आशा राखेका छौँ । सत्य तथ्य पहिचान बाहिर निकाल्न सकोस् । कानुन अन्धो हुन्छ उसले प्रमाण हेर्ने हो नि ।’ 

पीडितले न्याय पाउनुपर्ने र त्यसको लागि फेरि आवाज उठाउनुपर्ने समय आएको एक विद्यार्थी बताउँछन् । 

सङ्खुवासभा खाँदवारिका काजी बहादुर घिमिरे निर्मला जस्ता युवतीहरू आज विदेशमा अलपत्र परी बेचिएको बताउँछन् । जीवित हुँदा स्वदेशमा न्याय नपाउने अनि विदेशमा झन् नेपाली महिलाको बिजोग भइरहेको अवस्था छ । 

उनले भने, ‘निर्मला जस्ता सयौँ निर्मलाहरू यहाँ बितिसकेका छन् । हाम्रा नेताहरूले परिवर्तनका नाममा जनतालाई अल्मलाइरहेका छन् ।निर्मलाजस्ता युवतीहरू विदेशमा अलपत्र परेका, कोही विदेशमा मारिएका, कोही बेचिएका छन् । स्वदेशमा त न्याय पाउँदैनन् भने त्यो विदेशका नेपालीहरू के न्याय पाउलान् र ।’

उनले नेतृत्वको कमजोरीका कारण जनताले आफ्नो छाती खुम्चाएर बस्नु परेको भन्दै अन्यायमा परेकाले न्याय नपाउँदा दुःख लागेको बताए ।  

यसैगरी अछाम घर भएका राजेश कुमार शाहीले राज्यले न्याय दिने आश्वासन मात्र दिएको भन्दै अपराधी जोगाउने काम गरेको बताए । 

उनले भने, ‘आफ्नै क्षेत्रकी चेली हुन । आजको मितिसम्म न्याय पाउन सकेकी छैनन् । राज्यले गर्छु भनेर आश्वासन मात्र दिएको छ । जनतालाई चित्त बुझ्दो जवाफ दिन सकेको छैन । राज्यले जुन अनुसन्धान गर्नुपर्ने हो त्यस्तो अनुसन्धान गर्न सकेको छैन । यो भ्रष्टहरूको राज्य हो, दोषीहरूलाई मात्र जोगाउने काम गरिरहेका छन् ।’

यस्तै, रामेछाप लिखुतामाकोशी गाउँपालिकाका जनप्रतिनिधि समेत रहेका शिवप्रसाद न्यौपानेले अपराध गर्ने मान्छे अपराधको घेराभित्र आउन पर्ने बताउँछन् ।

‘न्याय पाउनुपर्ने हो । सत्य तथ्य छानबिन हुनुपर्ने हो भएन । ठुलाहरूको खेलमा सानातिनाको केही लाग्ने रहेनछ ।जसले हत्या गर्‍यो त्यसको आत्माले कहिले शान्ति पाउने छैन । अपराध गर्ने मान्छे अपराधको घेराभित्र आउनपर्छ,’ उनले भने । 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार