राष्ट्रिय हित र सुरक्षामा एकजुटता आवश्यक : मुख्यमन्त्री कार्की

बुधबार, २८ जेठ २०८२

विराटनगर: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले राष्ट्रिय सुरक्षा र हितका विषयमा सबै तह र तप्काको साझा एकता आवश्यक रहेको बताएका छन्। आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाली सेनाको 'हाइ कमान्ड एण्ड म्यानेजमेन्ट कोर्स' लिइरहेका उच्च पदस्थ सैनिक अधिकृतहरूसँग अन्तरक्रिया गर्दै मुख्यमन्त्री कार्कीले राष्ट्रिय हितमा एकजुटता देखाउन सकेमा विकास तीव्र र सुरक्षा चुनौती न्यून हुने स्पष्ट पारे।

मुख्यमन्त्री कार्कीले भने, "विकास र सुरक्षा समन्वयमा अघि बढे मात्रै समृद्धि सम्भव हुन्छ। प्रदेश सरकारले स्थापना यता उल्लेख्य प्रगति गरेका भए पनि त्यसको उचित प्रचारप्रसार नहुँदा आलोचना भोग्नुपरेको छ।"

उनले कोशी प्रदेश सरकारले अन्य तहका सरकारहरूभन्दा बढी काम गरेको र त्यो क्रम निरन्तर अघि बढिरहेको उल्लेख गरे। पर्यटन वर्ष घोषणा, पदमार्ग निर्माण, र कृषिमा नयाँ कार्यक्रमहरूमार्फत प्रदेशमा आर्थिक गतिशीलता आएको भन्दै उनले आगामी वर्ष ‘चिया सम्मेलन’ आयोजना गरेर चियाको प्रवर्धन गरिने जानकारी दिए।

कार्यक्रममा सहभागी उच्च पदस्थ सैनिक अधिकृतहरूले प्रदेशको सुरक्षा चुनौती, संघीयताको कार्यान्वयन, र विकास निर्माणका विविध आयाममा मुख्यमन्त्रीसँग अन्तरक्रिया गरेका थिए। नेपाली सेनाको 'वार कलेज'का उपरथी सन्तोष बल्लभ पौडेलले तालिमको उद्देश्य र गतिविधिहरूबारे जानकारी गराएका थिए।

WhatsApp Image 2025-06-11 at 5.35.47 PM

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार