अधिकांश प्रदेशमा हल्का देखि भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह

आइतबार, ०१ असार २०८२

काठमाडौँ :  आज देशका अधिकांश भागमा मेघगर्जन, चट्याङसहित हल्का देखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका विभिन्न भागहरूमा मनसुनी, पश्चिमी र स्थानीय वायुले प्रभाव जमाएको छ ।

महाशाखाका अनुसार बिहानको समयमा कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही स्थानहरू तथा लुम्बिनी प्रदेशको पूर्वी भागमा मनसुनी वायुको असर स्पष्ट देखिएको छ भने देशको पश्चिम भू९भागमा पश्चिमी वायु र स्थानीय वायुले प्रभाव पारिरहेको छ ।

जसको परिणामस्वरूप देशको पहाडी भू-भागमा आंशिकदेखि साधारण बदली रहेको छ भने अन्यत्र आंशिक बदली छ ।

दिउँसोको समयमा देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी, मधेश,बागमती र गण्डकी प्रदेशका धेरैजसो स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

यी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपात पनि हुन सक्ने महाशाखाले जनाएको छ । साथै, कोशी प्रदेशका एक/दुई स्थानमा भने भारीदेखि धेरै भारी वर्षाको चेतावनी दिइएको छ ।

राती पनि देशभर आंशिकदेखि साधारण बदली रहनेछ । गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना कायम छ ।

 यस्तै लगातारको वर्षाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

विशेषगरी वर्षाको मात्रा बढी हुने क्षेत्रहरूमा पहिरो, बाढी र सडक अवरुद्धको जोखिम समेत रहने भएकाले सचेत रहन भनिएको छ ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार