रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले किसानको पीडा देख्न नसकेको आरोप लगाउँदै ‘किसानमारा’ संज्ञा दिएका छन्। उनले किसानको आँसुबाटै सरकार पोलिने चेतावनीसमेत दिएका छन्।
सोमबार रौतहटको कटहरियामा आयोजित आजपाको जिल्ला कमिटी विशेष बैठकमा सम्बोधन गर्दै अध्यक्ष साहले सरकारले धान रोप्ने प्रमुख सिजनमा मलखाद्य नदिई किसानलाई ‘जिउँदै मारिरहेको’ आरोप लगाए। “अहिलेको समय धान बाली लगाउने महत्वपूर्ण समय हो, तर सरकारले किसानको आवश्यकतालाई बेवास्ता गरेको छ,” अध्यक्ष साहले भने, “यो अन्धो सरकार किसानको पीडा देख्न सक्दैन। किसानमारा सरकारलाई किसानको आशुले पोल्छ।”
साहले केन्द्रीय सरकारको जिम्मेवारी भएको भए पनि किसानलाई मलखाद्य र विउबिजन नदिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रत्यक्ष प्रश्नसमेत गरे। “प्रधानमन्त्रीज्यू, किसानलाई मल नदिएर जिउँदै मार्दा तपाईंलाई पोल्दैन?” भन्दै साहले सरकारको असंवेदनशीलता औँल्याए।
उनले किसानलाई चाहिने मल भारतबाट ल्याउँदा सीमामा प्रहरीले रोकेको घटनालाई पनि आलोचना गर्दै, “किसानले दुई बोरा मल ल्याउँदा प्रहरीले बाहुदरी देखाउँछ, अनि सरकार भन्छ, मल छ,” भने। यस्तै, सरकारको नीतिगत असफलताका कारण बिचौलियामात्र खुशी रहेको, तर किसान र सर्वसाधारण निराश भएको टिप्पणी गरे।
साहले वर्तमान सरकार ‘लुटतन्त्र’को प्रतिनिधि बनेको आरोप लगाउँदै जनतामाझ निराशा मात्र फैलाएको बताए। “बिचौलिया, भगौडावर्ग र दलिय सिण्डिकेटको पक्षपोषण गर्दै आएको यो सरकार लुट मच्चाउँदैछ,” भन्दै साहले न्यायप्रेमी जनताहरूलाई एकजुट हुन आह्वान गरे।
बैठकले संगठन निर्माण र विस्तारसँगै किसानलाई मलखाद्य र विउबिजन उपलब्ध गराउने विषयमा संघर्ष गर्ने निष्कर्ष निकालेको छ। आजपा रौतहट इन्चार्ज धर्मेन्द्र पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समिना हुसैन, त्रिभुवन साह, सियाराम कुशवाहा, उमेश कुशवाहा, विजय यादव निर्विजलगायत नेताहरूको उपस्थिति थियो।
प्रतिक्रिया