इटहरी : कोशी प्रदेशका दुई जिल्लामा एकै दिन दुई जङ्गली हात्ती मृत फेला परेका छन्। सुनसरी र झापामा मकैवारिमा करेन्ट लगाएर हात्ती मारिएको अवस्थामा भेटिएको छ। यससँगै मानव–हात्ती द्वन्द्व र हात्ती संरक्षणमा थप चुनौती देखा परेको विज्ञहरू बताउँछन्।
सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित कौशिकी सामुदायिक वन नजिकै करिब सात वर्षको भाले हात्ती मृत अवस्थामा फेला परेको जिल्ला वन कार्यालय सुनसरीले जनाएको छ।
प्रमुख खुद्रुस मियाँका अनुसार हात्ती राति नै मारिएको र प्रारम्भिक अनुसन्धानबाट करेन्ट लगाइएको पुष्टि भएको छ। “हामीलाई बिहान मात्रै खबर आयो, अहिले पोस्टमार्टम तयारी हुँदैछ,” उनले भने।
कोशी टप्पु वन्यजन्तु आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्र यादवले पनि करेन्ट लगाएरै हात्ती मारेको सूचना प्राप्त भएको जानकारी दिए।
यस्तै, झापाको मेचीनगर–१ गणेश टोलस्थित मकैवारिमा करिब सोही समयमा अर्को पोथी हात्ती मरेको अवस्थामा फेला परेको छ। डिएसपी खगेन्द्र खड्काले स्थानीय नागरिकलाई जानकारी दिँदै हात्तीको मृत्युपछि अनुसन्धान अघि बढाइएको बताए।
यसअघि पनि कोशी प्रदेशका विभिन्न स्थानमा हात्ती मृत फेला पर्ने घटनाहरू दोहोरिँदै आएका छन्।
२०८० पुस दोस्रो साता मोरङको सुन्दरहरैंचा–१० मा करिब १२ वर्षको हात्ती गोली हानी हत्या गरिएको थियो। त्यसैगरी, सप्तरीमा गाउँलेले बाली जोगाउन बनाएको करेन्टबाट झन्डै २२ वर्षको भाले दाह्रे हात्तीको ज्यान गएको थियो।
जिल्लागत हात्ती मृत्युदर बढ्दो
नेपालमा हाल जम्मा २२७ वटा जङ्गली हात्ती रहेको तथ्याङ्क छ। त्यसमध्ये करिब ६० वटा हात्ती भारतबाट झापा क्षेत्रमा आवतजावत गर्ने गर्छन्। पछिल्लो तीन वर्षयता मात्र कोशी प्रदेशसहित देशभर १५ वटा हात्ती मरेका छन्।
‘मानव–हात्ती द्वन्द्व अब नियन्त्रण बाहिर’
हात्तीका विषयमा विद्यावारिधि गरेका तथा बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण विज्ञ डा.अशोक रामका अनुसार हात्तीको मृत्युदर नियन्त्रणभन्दा बाहिर गइरहेको छ।
“कहिलेकाहीँ खेतबाली जोगाउने नाममा हात्ती मारिन्छ, तर कतिपय अवस्थामा नियोजित रूपमा हात्ती मारिन्छ,” उनले भने, “यसले वन्यजन्तु संरक्षण कानुनको समेत खिल्ली उडाएको छ।”
डा। राम भन्छन्, “अब दिनदिनै हात्ती जोगाउनु चुनौतीपूर्ण बन्दै गएको छ। सरकार र सरोकारवालाहरूले जनचेतानात्मक कार्यक्रमहरू सशक्त रूपमा सञ्चालन नगर्ने हो भने यो सङ्कट भयावह बन्न सक्छ।”
प्रतिक्रिया