विराटनगर । विराटनगर स्थापना भएको तीन दशकपछि पूर्वाञ्चल विश्वविद्यालयले एमबिबिएस शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति पाएको छ ।
शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले विश्वविद्यालयलाई ५० सिट क्षमतासहितको एमबिबिएस कार्यक्रम सञ्चालनको स्वीकृति दिएको हो ।
स्वीकृति पाएपछि यस क्षेत्रका स्थानीय खुसी भएका छन् । सुन्दरहरैंचाका साथै कोशी प्रदेशमै शैक्षिक हवका रूपमा विकास गर्नका लागि एमबिबिएस कार्यक्रम महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने स्थानीय केशव भट्टराईले बताए ।
सुन्दरहरैंचा वासीको निरन्तर आवाज, प्रदेशवासीको समर्थन, सम्पूर्ण विश्वविद्यालय परिवारको सामूहिक टिम–एफर्ट, नव–नेतृत्वको चुस्त व्यवस्थापन, पूर्वाधारको तयारी र नेपाल सरकारको निर्णायक अनुमतिले यो सपना साकार भएको हो ।
पूर्वाञ्चल विश्वविद्यालयका सेनेट सदस्य रञ्जन ओझाले परिकल्पना साकार भएको भन्दै यो उपलब्धि स्वास्थ्य, शिक्षा र रोजगारीका क्षेत्रमा कोशी प्रदेशका लागि एक वास्तविक ‘गेम चेन्जर’ हुने दाबी गरे ।
उनका अनुसार, अब प्रदेशका लाखौँ नागरिकले आफ्नै घर आँगनमै सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनेछन् र भविष्यका तेजस्वी तथा दक्ष चिकित्सकहरू यही प्रतिष्ठित कलेजबाट निस्कनेछन् ।
पूर्वाञ्चल विश्वविद्यालयले अब चिकित्सा शिक्षा आयोगले छनौट गरेर पठाएका ५० जना एमबिबिएस डाक्टरलाई अध्ययन गराउने तयारी गरेको छ । विश्वविद्यालयका मुख्य अधिकृत फडिन्द्रराज गौतमले नेपाल सरकारको महत्त्वपूर्ण भूमिका रहेको स्मरण गर्दै कार्यक्रमको व्यवस्थापनमा लाग्ने जनाएका छन् ।
देशकै एक महत्त्वपूर्ण विश्वविद्यालयलाई डा.पढ्नकै लागि समेत बिदेसिनु बाध्यताका बिच अध्ययन गराउने बिच दिएको स्वीकृतिले शैक्षिक क्षेत्रको उन्नयन हुनसक्ने विश्वास लिन सकिन्छ तर यसको दिगो व्यवस्थापन पनि उत्तिकै आवश्यक रहेको छ ।
प्रतिक्रिया