धरानका मेयर हर्क साम्पाङको फट्याइँ : हाजिरी गराएर श्रमदानको नाममा भुक्तानी

मंगलबार, ०३ असार २०८२

धरान: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङमाथि ‘हाजिरी’ तयार पारेर श्रमदानको नाममा नगरपालिकाबाट अनियमित रूपमा भुक्तानी वितरण गरिएको आरोप लागेको छ।

हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक हाजिरी खाता भाइरल बनेको छ, जहाँ एउटै व्यक्तिको हस्ताक्षरजस्तो देखिने समान शैलीका हस्ताक्षरहरू पटक–पटक दोहोरिएको पाइन्छ। उक्त हाजिरी खाता प्रयोग गरी श्रमदान गरेको भनिएका व्यक्तिहरूलाई नगरपालिका स्रोतबाट पैसा बाँडिएको भन्दै गम्भीर प्रश्न उठाइएको छ।

dor hajiri 3dor hajiri drn

स्रोतहरूका अनुसार सर्दु जलाधार संरक्षण तथा खोलानाला नियन्त्रणको नाममा मेयर साम्पाङले अगुवाइ गरेको श्रमदान कार्यक्रममार्फत निकटस्थ कार्यकर्ताहरूलाई पैसा उपलब्ध गराइएको हो।

डोर हाजिरी कागज बनाई श्रमदानको नाममा भुक्तानी गरिएको आशङ्का गरिएको छ।

यसबाहेक, नगरपालिकाको बजेटबाट सामग्री खरिद गरी श्रमदान कार्यक्रममा प्रयोग गरिएको तर खरिद प्रक्रिया पारदर्शी नभएको आरोपसमेत उब्जिएको छ।

विदेशबाट सङ्कलन गरिएको चन्दा रकमसम्बन्धी हिसाब पनि अहिलेसम्म सार्वजनिक नगरिएको भन्दै स्थानीय समुदाय, जनप्रतिनिधि र कर्मचारी तहमा असन्तुष्टि बढ्दो छ। मेयर साम्पाङले आफूमाथि लागेका आरोपहरू अस्वीकार गर्दै केही असन्तुष्ट समूहहरूले विकास र जनपक्षीय काममा अवरोध गर्न नियोजित षड्यन्त्र गरिरहेको जिकिर गरेका छन्।

धरान उपमहानगरभित्र मेयर र उपमेयरबिचको चर्किएको द्वन्द्व, नगर सञ्चालनमा देखिएको असमझदारी र अहिले सार्वजनिक भएका आर्थिक अनियमितताको आशङ्काले नगर प्रशासनमाथि गम्भीर प्रश्न उठाएका छन्। स्थानीयवासीले छानबिनको माग गर्दै सम्पूर्ण विवरण सार्वजनिक गर्न दबाब बढाएका छन्।

धरान मेयर र उपमेयरबीचको विवाद चुलिँदै, नगर परिसर तनावग्रस्त (तस्बिरहरू)

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार