सांसद चौधरीविरुद्ध ५ करोड ४० लाखको चेक अनादरको उजुरी

विहीबार, ०५ असार २०८२

बुटवल । नेकपा एकीकृत समाजवादीका सांसद एवं प्रतिनिधिसभामा प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध ठूलो परिमाणको चेक अनादरसम्बन्धी उजुरी परेको छ।

प्रहरीका अनुसार चौधरीविरुद्ध ५ करोड ४० लाख रुपैयाँ बराबरको चेक बाउन्स (अनादर) भएको आरोपमा जाहेरी परेको हो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक (एसपी) अर्जुन तिमिल्सिनाका अनुसार उक्त उजुरी हुलाकमार्फत प्राप्त भएको हो र हाल मुद्दा दर्ताको प्रक्रिया अघि बढाइएको छ। “सांसद चौधरीविरुद्ध बैंकिङ कसुरसम्बन्धी उजुरी प्राप्त भएको छ,” एसपी तिमिल्सिनाले भने, “जाहेरीको प्रारम्भिक अध्ययन भइसकेको छ र आवश्यक कानुनी परामर्श लिइरहेका छौं।”

प्रहरी स्रोतका अनुसार जाहेरीमा बैंकिङ कसुरसम्बन्धी प्रावधानअनुसार कारबाही माग गरिएको छ। यद्यपि, उजुरी दर्ता गर्ने व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। प्रहरी अहिले जाहेरीको कानुनी हैसियतको मूल्याङ्कन गर्दै बैंकिङ कसुर वा ठगीसम्बन्धी मुद्दा अघि बढाउने विषयमा परामर्शमा जुटेको छ।

चौधरी दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनी नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत हुन्।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार