२५ प्रतिशत काम नसकिँदै इटहरीको बहुजातीय सङ्ग्रहालय झाडीमा परिणत, चार वर्षमा पनि निर्माण अधुरै

आदिवासी जनजाति महासङ्घ अध्यक्ष भन्छन्, यो 'हाम्रो लागि सुँगुरको खोर जस्तै'

विहीबार, ०५ असार २०८२

इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका १० स्थित बुढी खोलाको किनारमा एक समय सांस्कृतिक पुनर्जागरणको प्रतीकका रूपमा चिनिने आशा गरिएको ‘बहुजातीय सङ्ग्रहालय’को सपना आज झाडी र घाँसे मैदानमा हराएको छ ।

‘तीन वर्षमा सम्पन्न हुन्छ’ भनेर प्रचार गरिएको यो बहुजातीय सङ्ग्रहालय निर्माणको काम ४ वर्ष पुग्नै लाग्दा पनि २५ प्रतिशत पनि हुन सकेको छैन । कुनै समय बुढी खोलाको किनारले इटहरीको सांस्कृतिक पक्षलाई समेट्ने नयाँ पहिचान पाउने विश्वास गरिएको थियो । 

चारै तिर पर्खालले घेरिएको सो क्षेत्र अहिले जङ्गलजस्तो देखिन्छ । भित्र पस्ने ढोका कहिले खोलिएको हो ? कसैलाई थाहा छैन । त्यो पर्खालभित्र हेर्ने जो कोहीलाई स्वागत गर्छन्, ठुला घाँसका बुटाहरू, अलपत्र पारिएका निर्माण सामग्रीले ।

पर्खालभित्र अलपत्र परेका संरचनाहरू राज्यको योजनागत असफलताको साक्षी बनेका छन् । जताततै छरपस्ट छन्, ढुङ्गा, इँटा, रड, सिमेन्ट र जस्तापाता न त कुनै निश्चित निर्माण शैलीको झल्को, न त संरक्षणको चिन्ता ।

वर्षौँदेखिको उपेक्षाले ती निर्माण सामग्रीलाई जङ्गली झारले ढाकेको छ । जसले राज्यको खर्च, जनताको कर र योजनाकारहरूको दूर दृष्टिमाथि गम्भीर प्रश्न खडा गरेको छ । 

सङ्ग्रहालयको परिकल्पना केवल भवन निर्माणमा सीमित थिएन । यो परियोजना इटहरी र आसपासका जातजाति, भाषा, संस्कृति, पहिरन, जीवनशैली र सम्पदालाई सङ्ग्रह गरेर अध्ययन, प्रदर्शन र पर्यटन प्रवद्र्धन गर्ने केन्द्र बनाउने उद्देश्यसहित अघि बढाइएको थियो । यसले इटहरीलाई एउटा सांस्कृतिक पर्यटन गन्तव्यमा रूपान्तरण गर्ने सपना देखाइएको थियो । संस्कृति अब सङ्ग्रहालयमा बाँच्छ भनेर स्थानीय बासिन्दाले पनि सुरुमा निकै अपेक्षा गरेका थिए ।

तर अहिले त्यो सपना सपना नै रह्यो । योजना बने पनि कार्यान्वयन गम्भीर रहेन, जिम्मेवारी पाएको निर्माण पक्षको उदासीनता, नगरपालिकाको कमजोर अनुगमनले यो योजनालाई जङ्गलमा परिणत गराएका छन् । अहिले स्थानीयको गुनासो छ, ‘दैनिक जसो त्यही बाटो भएर हिँड्दा पनि अब चासो उठ्दैन, थाकिसक्यौँ हेर्दा हेर्दै अलपत्र परेको त्यो संरचना ।’

आजको समयमा इटहरीले सहरी विकास र पूर्वाधार विस्तारमा तीव्र गति लिएको दाबी गर्दै गर्दा त्यही नगरका केन्द्रमा रहेको सांस्कृतिक परियोजना भने उपेक्षित र ओझेलमा परेको छ । यो केवल संरचनात्मक विफलता मात्र नभई इटहरीको भविष्य निर्माण गर्ने सांस्कृतिक दृष्टिकोणमै प्रश्न उठाउने विषय बनिसकेको छ ।

२०७८ साल मङ्सिर २४ गते तत्कालीन प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पूर्व मेयर द्वारिकालाल चौधरीको पहलमा तामझामसहित सङ्ग्रहालय भवनको शिलान्यास गरेका थिए । प्रेरणा गिरी जेभीले १७ करोड १५ लाख रुपैयाँको लागतमा निर्माणको जिम्मा पनि लिएको थियो । तीन वर्षमा काम सम्पन्न गर्ने सर्तमा ठेक्का लिएको भए पनि अहिले त्यो ठाउँ हेर्दा न सपना बाँकी देखिन्छ, न त योजना कार्यान्वयनको गति ।

प्रारम्भमा ठुला–ठुला गाडीहरू दिनहुँ निर्माण स्थलमा देखिन्थे । सर्वसाधारण उत्सुकताका साथ हेरिरहन्थे । तर अहिले अवस्था बदलिएको छ । स्थानीय बिरु चौधरी भन्छिन्,

पहिला त मान्छे हेर्न आउँथे, काम पनि धमाधम हुन्थ्यो । अहिले त खेत जस्तो देखिन्छ । अलपत्र पर्छ भनेर हामीले त कल्पना पनि गरेका थिएनौँ ।

यो सङ्ग्रहालय इटहरीको सांस्कृतिक विविधता झल्काउने उद्देश्यले निर्माण गर्न थालिएको थियो । करिब दुई बिघा क्षेत्रफलमा फैलिएको संरचनामा २५ वटा प्रदर्शनी कक्ष, पुस्तकालय, मल्टिपर्पोज मिटिङ हल, पार्किङ, फाउन्टेन, थारु ग्राम जस्ता आकर्षक संरचनाहरू बनाउने योजना थियो । जातीय विविधता समेट्ने, संस्कृति जगेर्ना गर्ने र पर्यटकलाई आकर्षित गर्ने लक्ष्य रहेको थियो ।

ठेकेदार कम्पनी प्रेरणा गिरी जेभीका प्रबन्ध निर्देशक कुमार गिरीको भनाइ अनुसार चालु आर्थिक वर्षमा १० करोड रुपैयाँको बजेट विनियोजन गरिएको भए पनि योजनाको कार्यान्वयनमा कमजोरी देखिएको छ । ‘यदि समयमै बजेट दिएको भए अहिले ६० प्रतिशत काम सकिन्थ्यो , गिरी भन्छन्, ‘तर अहिले २५ प्रतिशत पनि सम्पन्न हुन सकेको छैन ।’

इटहरी उपमहानगरपालिकाका योजना शाखाका प्रमुख इन्जिनियर जीवन घिमिरेका अनुसार सङ्ग्रहालय बजेट अभावका कारण होइन, ठेकेदार कम्पनीको कमजोरीका कारण अघि बढ्न नसकेको बताउँछन् । ‘ठेक्का दिँदा खेरी बजेट पर्याप्त थियो। तर निर्माण कम्पनीले समयमै काम गर्न सकेन । उनले स्पष्ट पारे, ‘कम्पनीले म्याद थपको निवेदन दिएको छ। म्याद थपेर काम पुनः सुरु हुनेछ ।’

स्थानीय बासिन्दा र संस्कृतिकर्मीहरू भने यो आयोजनाको कामप्रति निराश देखिएका छन् । उनीहरू सरकार र सरोकारवालाको ध्यानाकर्षण गराउँदै सङ्ग्रहालयको निर्माण यथाशीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याउन जोड दिन्छन् । 

सुरुमा प्राथमिकताको सूचीमा परेको योजनाले पछिल्ला दुई वर्षयता उपमहानगरबाट बजेट पाउन सकेन । योजना नै उपेक्षाको अवस्थामा परेको छ । यो अवस्था हेर्दा योजनाको महत्वभन्दा पनि राजनीति र प्रक्रियागत कमजोरी बढी प्रभावशाली देखिन्छ ।

इटहरीको जस्तो समावेशी समाजमा बहुजातीय सङ्ग्रहालयको महत्त्व केवल भौतिक संरचना निर्माणमा मात्र सीमित छैन । यो स्थानीय पहिचान, संस्कृति र इतिहासको अभिलेख बन्ने योजना थियो । भोलिका पुस्ताले आफ्ना पुर्खाको विरासत बुझ्न सक्ने थलो बन्न सक्ने थियो । तर अहिले त्यसको स्वरूप हराउँदै गएको छ ।

भर्खरै इटहरी उपमहानगरपालिकाले आगामी वर्षका लागि विभिन्न योजना अघि सारेको छ । तर बहुजातीय सङ्ग्रहालय पुनः प्राथमिकतामा परेको छ कि छैन भन्ने स्पष्ट छैन । यदि यो आयोजना पुनः गम्भीरतापूर्वक लिइएन भने, यो संरचना पनि देशका अन्य अधुरा र बेवास्तामा परेका योजनाजस्तै बन्द कोठामा थन्किने खतरा उत्तिकै देखिएको छ ।

सङ्ग्रहालयप्रति आदिवासी जनजाति महासङ्घको असन्तुष्टि : सङ्ग्रहालय सुँगुरको खोरजस्तै

आदिवासी जनजाति महासङ्घ इटहरीका अध्यक्ष चिरहाङ राईले इटहरी उपमहानगरपालिकाद्वारा निर्माण गरिएको सङ्ग्रहालयप्रति असन्तुष्टि जनाएका छन् । उनले उपमहानगरपालिकाले सङ्ग्रहालय निर्माणको क्रममा आफूहरूलाई बेवास्ता गर्दै प्रक्रिया अघि बढाएको आरोप समेत लगाए ।

राईका अनुसार सङ्ग्रहालयजस्तो गम्भीर, संवेदनशील र सामूहिक स्मृति बोकेको संरचना बनाउँदा सबै सरोकारवालासँग छलफल तथा समन्वय गर्नुपर्ने हुन्छ । तर, उपमहानगरपालिकाले कुनै प्रकारको पूर्व सम्पर्क, छलफल र सहमति विना एकतर्फी ढङ्गले सङ्ग्रहालय निर्माण प्रक्रिया अघि बढाएको उनले गुनासो गरे ।

‘सुरुदेखि नै हामीलाई समावेश गरिएन, त्यसैले हामीले चासो लिनै आवश्यक ठानेनौँ । राईले भने,‘यस्तो गहन र जनसम्बन्धी विषयमा समावेशी सोच बिना अघि बढ्दा त्यसको स्वरूप र महत्त्व नै खुम्चिन्छ ।’

अध्यक्ष राईको भनाइमा सङ्ग्रहालयको हालको स्वरूपले आदिवासी जनजातिहरूको सांस्कृतिक विविधता, गौरवपूर्ण इतिहास र पहिचानलाई न त समेट्न सकेको छ, न त सम्मानपूर्वक प्रस्तुत गरेको छ । उनले स्थानीय तहको यस्तो दृष्टिकोणले आदिवासी जनजातिहरूको भावना अपमानित भएको आभास दिएको बताए ।

“हामीले चाहेको बहुजातीय प्रतिनिधित्व नभएको यो सङ्ग्रहालय सुँगुरको खोरजस्तै अपमानजनक बनेको छ,” राईको टिप्पणी छ । उनले उपमहानगरपालिकाको नेतृत्वले आदिवासी समुदायको योगदान,धरोहर र पहिचानप्रतिको दृष्टिकोणमै पूर्वाग्रह राखेको आरोपसमेत लगाए ।

उनको भनाइ अनुसार, इटहरी उपमहानगर क्षेत्रमा रहेका थुप्रै आदिवासी जनजातिहरूको मौलिक परम्परा, कला, जीवनशैली र ऐतिहासिक योगदानलाई समेटेर समावेशी सङ्ग्रहालय निर्माण गर्न सकिने राम्रो अवसर गुमाइएको छ । 

‘सङ्ग्रहालयमा हाम्रो भाषा, पोसाक, संस्कार, चाडपर्व, पुराना दस्ताबेज, सामुदायिक सङ्घर्ष सबै कुरालाई उचित रूपमा स्थान दिन सकिन्थ्यो । राईले भने, ‘तर अहिलेको सङ्ग्रहालयले हामीलाई हेरिने दृष्टिकोणलाई नै उजागर गरिदिएको छ ।’

राईले यस्तो एकपक्षीय अभ्यासले समावेशी लोकतन्त्रको मर्ममाथि चोट पुगेको उल्लेख गर्दै भविष्यमा आदिवासी जनजाति लगायत सबै समुदायको सार्थक सहभागिता सुनिश्चित गर्न माग गरेका छन् । उनले सङ्ग्रहालयको वर्तमान स्वरूप पुनरावलोकन गर्दै समावेशी रूपान्तरणको प्रक्रिया तत्काल सुरु गर्न उपमहानगरपालिकासँग आग्रह गरेका छन् ।
 

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार