काठमाडौं । काठमाडौंको मनोहरा नदी किनारमा रहेको सुकुम्वासी बस्ती यतिबेला कुरुपजस्तै देखिन्छ । बस्तीबासीको मुहार आक्रोश र पीडाले भरिएको जस्तै भान हुन्छ । बस्तीमा नयाँ व्यक्ति देख्नासाथ स्थानीय झस्किन्छन् । क्यामेरा लिएर पुगेका संचारकर्मीहरुलाई समेत उनीहरु आक्रमक बन्ने गरेका छन् ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ महानगरपालिकाले बस्तीका संरचनामा शुक्रबार डोजर चलाएर घर–टहरा भत्काइदिएपछि अवस्था असामान्य छ ।वैकल्पिक व्यवस्था गर्न नपाउँदै महानगरले घर टहरामा डोजर आतंक मच्चाएपछि स्थानीयहरुमा रुवाबासी चलेको छ । डोजर प्रयोग गरेर महानगरले करिब २० देखि २५ वटा घर वा टहरामा डोजर चलाएपछि दर्जनौं परिवार विचल्लीमा छन् । मध्यवर्षा यामको समयमा घर भत्काइएपछि सुकुम्बासीहरु घर न घाटको अवस्थामा छन् ।
पीडितहरु भत्काइएका खण्डहर संरचनामै पाल टांगेर बसेका छन् । डेढ दशकदेखि सुकुम्बासी बस्तीमा बस्दै आएका शम्भु थापाले बिना जानकारी एक्कासी डोजर चलाइएको आरोप लगाए ।उनले सामान झिक्न समेत नदिएकोप्रति गुनासो गरे । भोट माग्नेबेला नेताहरु आएको तर अहिले सरकारका सबै पक्षहरुले सोध्न समेत नआएको भन्दै उनले आक्रोश पोखे ।
‘यहाँ बाटो खोल्नुपर्छ भनेर घर सारेका थियौं । जानकारी समेत नदिइ एक्कासी डोजर लिएर आए र भत्काए । घरभित्रका सामान झिक्नै पाइएन् । यस्तो अत्याचार हुँदा भोट माग्न आउने नेता र सरकार स्वार्थी भएका छन् । अहिलेसम्म कोही आएका छैनन् । भूमि आयोगले केही गर्छु भनेको थियो आजसम्म गरेको छैन्,’ उनले भने,‘आजसम्म भोट माग्ने काम मात्र भएको छ । भोट पाएका नेताहरु कोही फर्किएर आएनन् । हाम्रो छानो यसरी भत्काइयो तर कोही सहयोग लिएर आएनन् । आफन्तकोमा बसिरहेका छौँ । पहिल्यै थाहा भएको भए वैकल्पिक व्यवस्था गर्ने थियौं वा रोक्नेथियौं होला । भत्काउन थालेपछि प्रतिकार गरेर पार लागेन । शसस्त्र र महानगरका प्रहरी सबै मिलेर हामीलाई बाहिर निकालेर घरहरु एकाएक भत्काउन थाले ।’
उक्त क्षेत्रमा २५ वटाजति घर भत्किाइएको उनले जानकारी दिए । क्षतिको कुनै लेखाजोखा नभएको समेत उनले बताए । ‘क्षति थुप्रै भएको छ । भएका सबै सामान बिग्रिएका छन् । राहत आँउछ भनेर अश्वासन दिइएको छ । तर अहिलेसम्म कोही आएको छैन्,’ उनले अगाडि भने,‘हाम्रो जग्गा हो । जबरजस्ती कब्जा गरेर बसेको हो र जबरजस्ती नै भत्काउँछौ भन्दै महानगरका प्रतिनिधिहरु आएका थिए । यस्तो बर्षायामको बेला यतिसम्म अत्याचार नगरिदिएको भएहुन्थ्यो ।’
आफूहरु भक्तपुर जिल्लाको भएपनि काठमाडौं महानगरपालिकाले आएर अत्याचार गरेको उनको गुनासो छ । बालबच्चा र बृद्धबृद्धा रुवाबासी गरेपनि महानगर निर्दयी भएको उनले बताए ।सोही बस्तीमा बस्दै आएकी माया खापुङ्ग महानगरप्रति आक्रोश पोख्दै भन्छिन्,‘महानगरले अन्याय मात्र होइन अत्याचार नै गर्यो । सामान झिक्न समेत दिएन् । एकाएक डोजर चलाउन थाल्यो । व्यवस्थित गर्छु भन्ने सरकारको पारा यही हो त ?’
पूर्व जानकारी समेत नदिए महानगरले डोजर चलाएकाले अत्याचारको पराकाष्ट भएको उनको दाबी छ । ‘हामीलाई केही जानकारी थिएन् । यसरी भत्काउनु थियो भने पहिले नै खबर गरेको भए हुन्थ्यो । पकाएर खाने भाँडा र लगाउने लुगाफाटा समेत निकाल्न दिएनन् । घरभित्र बालबच्चा सँगै सबै परिवार हुँदाहुँदै एकाएक गरेर भत्काइयो । अपांग बच्चा थियो उसलाई समेत निकाल्न पाइएन । निकाल्न जानेलाई समेत कुटपिट भयो,’ पीडित खापुङले भनिन् ।
प्रतिकारका क्रममा धेरैजना घाइते भएको, अंगभंग बनाएको र हिडडुल समेत गर्न नसक्नेगरी कुटपिट भएको उनको गुनासो छ । ‘यो त अत्ति नै भयो । हामी जस्तो गरिब दुःखीलाई यस्तो गर्नु ठिक हो र ? अहिले एकदमै बिचल्ली अवस्था छ । कतैबाट राहत आएको छैन् । कोही आएका छैनन् । सुकुम्बासी बस्ती व्यवस्थित गर्छु भन्ने सरकार कहाँ छ ?’ उनले प्रश्न गरिन् ।
तर यता, काठमाडौं महानगरपालिकाले पटक पटक सूचना दिएको र केही भूमाफियाले जग्गा किनेर घर बनाएको सूचना पाएपछि अवैध संरचना भत्काइएको जनाएको छ । मनोहरा जग्गा एकीकरण आयोजनाको आग्रह र मेयर बालेन शाहको निर्देशनमा अनधिकृत संरचनाहरू भत्काइएको नगर प्रहरी प्रमुख राजु पाण्डेले संचारर्कीहरुलाई जानकारी दिए ।
पाण्डेका अनुसार सोझासाझा व्यक्तिहरुलाई फसाएर भू माफियाहरुले जग्गा हडप्ने प्रयास गरेको र अनधिकृत तरिकाले व्यक्तिको सम्पत्ति कब्जा गर्ने प्रयास भइरहेकाले महानगरको निर्देशनमा डोजर चलाइएको हो ।
प्रतिक्रिया