इटहरी । सुनसरीको दुहबी नगरपालिका–११ तनमुनामा साइकलबाट लडेर घाइते भएका २२ वर्षीय युवकको उपचारका क्रममा ज्यान गएको छ।
गढी गाउँपालिका–४ निवासी अर्जुन ऋषिदेव असार १ गते राति करिब १० बजे मेलाबाट घर फर्किने क्रममा साइकलबाट लडेका थिए।
दुर्घटनामा दाहिने तिघ्रा र कुर्कुच्चामा चोट लागेको भए पनि उनले सो घटनाबारे कसैलाई तत्काल जानकारी दिएका थिएनन् । परिवारले असार ४ गते दिउँसो ४ बजे मात्र अर्जुन घाइते भएको थाहा पाएपछि उनलाई इनरुवा अस्पतालमा सामान्य उपचार गराइएको थियो।
अवस्था गम्भीर देखिएपछि उनलाई अर्को दिन असार ५ गते बिहान कोशी अस्पताल विराटनगर ल्याइएको थियो।
तर कोशी अस्पतालमा भर्ना गरिएको केही बेरमै, सोही दिन दिउँसो १२ बजे उपचारका क्रममा अर्जुनको मृत्यु भएको प्रहरीले जनाएको छ । अस्पताल प्रशासनमार्फत दिउँसो १२ः३० बजे इलाका प्रहरी कार्यालय छिटाहालाई खबर गरिएको थियो।
पोस्टमार्टमपछि शव अर्जुनका बाबुले साँझ ५ः३० बजे बुझिलिएको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया