इटहरी : कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको पहलमा मोरङको सुन्दरहरैंचा नगरपालिका–५ तिनपैनीस्थित एक सुकुम्बासी दर्जी परिवारलाई जस्ता पाता सहयोग गरिएको छ । गत जेठमा आएको हावाहुरीले उक्त परिवारको घर उडाएपछि उनीहरु बस्नका लागि समस्या परिरहेको थियो ।
नेपाली कांग्रेस सुन्दरहरैंचा–५ का सभापति घनश्याम न्यौपानेका अनुसार परिवारलाई बस्न मिल्ने गरी काठको व्यवस्था आफैंले गरेका थिए । तर वडास्तरबाट कुनै सहयोग नपाएपछि पूर्वमुख्यमन्त्री कार्कीलाई जानकारी गराई उनको पहलमा जस्ता पाताको व्यवस्था भएको हो ।
सो अवसरमा कार्कीले विपन्न र सुकुम्बासी समुदायलाई सरकारको ध्यान पुग्न नसकेकोमा चिन्ता व्यक्त गर्दै आफूले नेतृत्व सम्हालेको समयदेखि नै जनतामुखी अभियानलाई प्राथमिकता दिएको बताए । उनले भने, “सरकारका कार्यक्रम गरिब र पीडित घर–घरमा पुग्न सकिरहेको छैनन्, त्यसैले हामीले आफैं पहल गरेर सहयोग गर्नुपर्ने अवस्था छ ।”
कार्कीको नेतृत्वमा यसअघि विराटनगरमा समेत सुकुम्बासीहरुको पुनःस्थापनाका लागि नमूना बस्ती निर्माण गरिएको छ । विराटनगर–१२ मा बनेको नमूना बस्ती उनको अग्रसरतामा सम्पन्न भएको उल्लेख गर्दै उनले सुन्दरहरैंचामा गरिएको यो सहयोग पनि त्यसैको निरन्तरता भएको बताए ।
स्थानीय बासिन्दाले पूर्वमुख्यमन्त्री कार्कीको यस कदमलाई स्वागत गर्दै विपन्न परिवारलाई राहत पु¥याउने खालका यस्ता पहल निरन्तर गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया