विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मानवीय कारणले नै मनसुनजन्य विपत्तिको जोखिम बढिरहेको बताएका छन्। आज विराटनगरमा आयोजित ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना’ संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले भौतिक संरचना निर्माण गर्दा त्यसबाट उत्पन्न हुने समस्यालाई ख्याल नगर्दा मनसुनजन्य विपत्तिको प्रभाव बढेको बताएका हुन्।
“विकास निर्माणका काम गर्दा वातावरणीय अध्ययनमा ध्यान नदिनु र जलवायु परिवर्तनलाई हामीले नै थप चुनौति दिइरहेका कारण पछिल्ला वर्षहरूमा मनसुनजन्य विपत्तिले प्राकृतिक, आर्थिक र मानवीय क्षति पुर्याएको छ,” उनले भने, “अझै पनि हामी गम्भीर बनेनौ भने केही वर्षपछि यस्तो विपत्तिबाट हुने क्षति रोक्ने क्षमता हामीसँग रहने छैन।”
मुख्यमन्त्री कार्कीले कोशी प्रदेशभित्र विपत्त व्यवस्थापनका लागि आवश्यक सम्पूर्ण तयारी गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई निर्देशन दिएका छन्। मानवीय, भौतिक तथा आर्थिक क्षति न्यूनीकरण गर्न जनचेतनाको माध्यमबाट समुदायमा सजगता बढाउनुपर्नेमा उनले जोड दिए।
“विपत्तिलाई पहिलो चुनौतीका रूपमा लिएर त्यसको प्रतिकार्यका लागि संरचना निर्माण गर्नुपर्छ,” उनले भने, “यसमा नेतृत्व आन्तरिक मामिला तथा कानुन मन्त्रालयले लिनुपर्छ र सरकारबाट आवश्यक सहयोग गर्न हामी तयार छौं।” उनले मानव जीवन, भौतिक संरचना र प्राकृतिक स्रोत जोगाउने विषयमा प्रदेश सरकार गम्भीर रहेको स्पष्ट पारे।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले कोशी प्रदेशले पाँच वर्षे ‘प्रदेश विपत्त व्यवस्थापन रणनीति कार्ययोजना’ बनाइसकेको र त्यसअनुसार काम अघि बढेको जानकारी दिए। उनले मनसुनजन्य विपत्तिबाट जोखिममा परेका र अति जोखिममा परेका क्षेत्र छुट्याएर काम भइरहेको बताए। “अति जोखिममा रहेका बस्तीलाई स्थानान्तरण गर्ने तयारी पनि भइरहेका छन्,” उनले भने।
उनका अनुसार संघीय, जिल्ला र स्थानीय तीन तहका विपत्त व्यवस्थापन समितिसँग सहकार्य गरेर काम भइरहेको छ। साथै, स्थानीय समितिलाई अझ प्रभावकारी बनाउने दिशामा सरकार अघि बढिरहेको उनले जानकारी दिए।
कार्यक्रममा पूर्व सचिव केदार न्यौपानेले ‘मनसुन हिजो, आज र भोलि’ विषयमा कार्यपत्र प्रस्तुत गरे भने डीपीनेट नेपालका अध्यक्ष डा. राजु थापाले ‘२०८१ सालको मनसुन चित्रहरूमा’ भन्ने कार्यपत्र प्रस्तुत गरे।
जल तथा मौसम विज्ञान विभाग धरानका रुद्र परियारले ‘२०८२ सालको मनसुन प्रक्षेपण’ कार्यपत्र प्रस्तुत गरे भने राष्ट्रिय विपत्त जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रतिनिधि गोमा चेम्जोङले ‘संघीय मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२’ विषयमा कार्यपत्र प्रस्तुत गरिन्।
त्यस्तै, कोशी प्रदेशका विपत्त व्यवस्थापनसम्बन्धी विज्ञ रामकुमार दाहाल र यस प्रसाद सुब्बाले समेत आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए।
प्रतिक्रिया