कात्तिकको दोस्रो साता उपनिर्वाचनको प्रस्ताव

शुक्रबार, ०६ असार २०८२

काठमाडौँ  : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा निर्वाचन गर्ने सन्दर्भमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरूले भेटेर आगामी कात्तिकको दोस्रो साता प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन गर्न र राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानका लागि निर्वाचन तय गर्ने विषयमा छलफल गरेको हो ।

प्रतिनिधिसभाका सदस्यको रुपन्देही क्षेत्र नम्बर ३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नम्बर १ (२) को रिक्त सदस्यका लागि कात्तिकको दोस्रो साता निर्वाचन गर्ने गरी नेपाल सरकारको परामर्शमा यही असार १६ गतेभित्र आयोगले मिति तोक्ने तयारी गरेको छ ।  यसैगरी स्थानीय तहमा १३ वटा वडा अध्यक्षको पद रिक्त रहेको आयोगले अवगत गराएको छ ।

प्रधानमन्त्री ओलीले निर्वाचनका लागि आयोगले गरेको तयारीअनुसार आवश्यक सहजीकरणका लागि नेपाल सरकारका तर्फबाट सहयोग हुने विश्वास दिलाए ।

उनले आगामी आवधिक निर्वाचनका लागि गर्नुपर्ने तयारी पनि गर्दै गर्न आयोगलाई सुझाव दिए ।

भेटका अवसरमा आयुक्तहरू डा. जानकीकुमारी तुलाधार र सगुनशमशेर जबरा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उच्चाधिकारीलगायत सहभागी थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार