इटहरी । सडक सुरक्षामा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित ‘ट्राफिक सप्ताह २०८२’ कार्यक्रमको उद्घाटन इटहरीमा गरिएको छ।
सडक अनुशासन, सुरक्षित सवारी र जिम्मेवार यात्रुका पक्षमा आम सर्वसाधारणको सहभागिता अभिवृद्धि गराउने लक्ष्यसहित ‘ट्राफिक सप्ताह २०८२’ प्रारम्भ गरिएको हो।
कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल रहेका थिए भने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
उद्घाटन समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, उद्योग वाणिज्य संघ, यातायात व्यवसायी, मजदुर संगठन, राजनीतिक दल, पत्रकार, बौद्धिक वर्ग, विद्यालयका शिक्षक–विद्यार्थी र स्थानीय बासिन्दा गरी करिब १५ सय भन्दा बढीको सहभागिता रहेको थियो।
ट्राफिक सप्ताह कार्यक्रम जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी र जिल्ला प्रहरी कार्यालय सुनसरीको आयोजनामा तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र राजमार्ग ट्राफिक कार्यालय इटहरीको सहकार्यमा सुरु गरिएको हो।
उद्घाटन समारोहमा भगवती दल गण ईटहरीका सेनानी राजन भुजु, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, सशस्त्र प्रहरी बल ४ नं. गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मल कुमार थापा, जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी निरीक्षक विरेन्द्र सिंह थापालगायत उच्च सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो।
सप्ताहभर सडक सुरक्षासम्बन्धी जनचेतनामूलक र्याली, पोस्टर प्रदर्शन, विद्यार्थी तथा चालक लक्षित सचेतनामूलक कार्यक्रमहरू, ट्राफिक नियमका प्रशिक्षण र सार्वजनिक सम्वाद कार्यक्रमहरू सञ्चालन गरिने आयोजकले जनाएको छ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले सडक अनुशासन कायम राख्न चालक, पैदल यात्रु र सम्बन्धित निकाय सबैको साझा जिम्मेवारी रहेको बताए।
प्रमुख जिल्ला अधिकारी मिश्रले जनतामा नियम पालना गर्ने संस्कार विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे।
ट्राफिक सप्ताहलाई जनस्तरमै प्रभावकारी बनाउँदै सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
प्रतिक्रिया