कोशी प्रदेशमा ट्राफिक सप्ताह सुरु

शुक्रबार, ०६ असार २०८२

विराटनगर : “सुरक्षित यात्रा हामी सबैको चाहना, सबैले गरौँ ट्राफिक नियमको पालना” भन्ने मूल नारासहित कोशी प्रदेशमा ट्राफिक सप्ताह २०८२ को शुभारम्भ भएको छ । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको संयुक्त आयोजनामा सुरु भएको यो सप्ताह सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणमा केन्द्रित रहेको जनाइएको छ । 

विराटनगरको महेन्द्र चोकबाट सुरु भएको प्रभात फेरी ¥याली सिटी हल पुगेर सम्पन्न भएको कार्यक्रमको उद्घाटन मुख्यमन्त्री हिक्मत कुमार कार्कीले दीप प्रज्वलन गरी गरे । उनले “सुरक्षित यात्रा” शीर्षकको श्रव्य दृश्य सामाग्री सार्वजनिक गर्नुका साथै सार्वजनिक बसमा क्युआर कोड स्टिकर टाँसी यात्रु गुनासो सङ्कलनको व्यवस्था सुरु गरेका छन् । 

मुख्यमन्त्री कार्कीले सडक दुर्घटनाको मुख्य कारक मानवीय लापरबाही भएकाले सबै क्षेत्रको सहभागिता आवश्यक भएको उल्लेख गर्दै विद्यालय तहबाटै ट्राफिक सचेतना अभियान थाल्नुपर्ने धारणा राखे । उनले ट्राफिक व्यवस्थापनमा योगदान दिने व्यक्तिहरूलाई प्रशंसा पत्रद्वारा सम्मानसमेत गरेका छन् । 

कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले ट्राफिक प्रहरीलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै प्रदेश सरकार सधैँ ट्राफिक सुरक्षामा तत्पर रहेको बताएका छन् ।

ट्राफिक सप्ताहको अवसरमा कोशी प्रदेशका १४ वटै जिल्लामा एक सातासम्म विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएका छन् । सडक अनुशासन र सवारी सुरक्षामा जनसहभागिता बढाउन ट्राफिक सप्ताहले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार