चार महिनासम्म चल्ने रामधुनी महोत्सव : सनातन धर्म र धार्मिक पर्यटन प्रवर्द्धनको अभियान

सोमबार, ०९ असार २०८२

सुनसरी : कोशी प्रदेशको धार्मिक गाथालाई विश्वसामु चिनाउने लक्ष्यसहित झुम्कामा ऐतिहासिक ‘रामधुनी महोत्सव’ आयोजना हुने भएको छ। महोत्सव असार २२ गते हरिशयनी एकादशीका दिनदेखि सुरु हुनेछ। यस दिन तुलसी रोपण गरेर चार महिनासम्म धार्मिक गतिविधिहरू सञ्चालन गरिनेछ।

कार्यक्रमको मूल उद्देश्य सनातन धर्मको सम्मान, रामधुनीको महिमा प्रचार र कोशी प्रदेशका तीर्थस्थलहरूको प्रवर्द्धन हो। असार २७ गते शुक्रवार बिहान ७ बजे झुम्कास्थित शनिमन्दिरबाट रामधुनी मन्दिरसम्म भव्य शोभा यात्रा आयोजना हुनेछ।

शोभायात्रामा हात्ती, घोडा, पञ्चेबाजा, पञ्चकन्या, स्वस्ति वाचन लगायतका सांस्कृतिक र परम्परागत आकर्षणहरू समावेश गरिनेछन्। रामधुनी मन्दिरको ऐतिहासिक र धार्मिक महत्त्व विशेष छ। विश्वमा एकमात्र रामभगवानले गुरुकुलिय शिक्षा आरम्भ गर्दा बालेको यज्ञरूपी धुनिलाई रामधुनी भनिन्छ।

अर्को किंवदन्ती अनुसार जनकपुरबाट वनवास गएका राम, लक्ष्मण र सीता यहाँ केही समय विश्राम गरेको धार्मिक विश्वास रहिआएको छ। यही प्रसङ्गले रामधुनीलाई रामायण सर्किटमा समावेश गर्ने प्रयत्न महोत्सवको केन्द्रीय भाव हो।

महोत्सवमा नेपालका प्रथम ऐतिहासिक जगद्गुरु बालसन्त महाराज, ॐ कार धर्मका सम्पूर्ण गुरुहरू, सनातनी अखडाका महामण्डलेश्वर, विश्वविख्यात साधु कालिबाबा लगायत सहभागी हुनेछन्। लन्डन, मलेसिया र अन्य १०८ राष्ट्रका प्रतिनिधि, साथै १९३ देशका अन्तर्राष्ट्रिय सन्त बौद्धिक मञ्चका सदस्यहरूको उपस्थिति रहनेछ।

नेपाल–भारतका विभिन्न धार्मिक अगुवा, समाजसेवी, युवा तथा बालबालिकाको पनि उल्लेख्य उपस्थिति रहनेछ।  चार महिनासम्म चल्ने महोत्सवमा रामायण कथा, चतुर्मास अनुष्ठान,दैनिक हवन, धार्मिक प्रवचन, योग साधना र शान्तिपूर्वक प्रार्थनात्मक कार्यक्रम सञ्चालन गरिनेछ।

महाअभियान ॐकार धर्म संस्कृति जगेर्ना विश्वशान्ति महाअभियान, नागरिक समाज कोशी प्रदेश नेपाल, विश्व वैदिक गुरुकुल फाउन्डेसन, इण्डो–नेपाल रिलेसन एण्ड पिस फाउन्डेसन, मोदिविचार मञ्च र अन्तर्राष्ट्रिय सन्त बौद्धिक मञ्चको संयुक्त आयोजनामा सम्पन्न हुनेछ।

कार्यक्रम समन्वयकर्ता बालब्यास मन्त्र विशारद ज्योतिष पण्डित कमलप्रसाद दाहालका अनुसार, यस आयोजनाले धार्मिक पर्यटन, सांस्कृतिक संवर्द्धन र अन्तर्राष्ट्रिय समन्वयमा नयाँ इतिहास कोर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार