धरान : धरान उपमहानगरपालिका–१४ स्थित प्रसिद्ध धार्मिक स्थल पिण्डेश्वर बाबाधाममा आज बिहीबारदेखि बोलबम मेला सुरु भएको छ। एक महिनासम्म चल्ने मेलाको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरे।
उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनबाट प्रदेशमा रोजगारी सिर्जना र आर्थिक समृद्धि सम्भव हुने बताए। "पिण्डेश्वर क्षेत्रलाई केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई समृद्धिको आधारको रूपमा समेत विकास गर्न सकिन्छ," उनले भने, "सनातन धर्म र संस्कृति हाम्रो पहिचान हो, यसबाट पर्यटन प्रवर्द्धन र रोजगारी सृजना गर्दै 'समृद्ध नेपाल, सुखी नेपाली' अभियानमा टेवा पुग्नेछ।"
मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा रहेका बराहक्षेत्र, पिण्डेश्वर, बुढासुब्बा, हलेसी, पाथीभरा लगायतका स्थलहरूको संरक्षण तथा समुचित विकासका लागि प्रदेश सरकारले बहुवर्षीय गुरु योजना अघि बढाएको जानकारी दिए। ती स्थलहरूलाई धार्मिक मात्र नभई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न पूर्वाधार निर्माण, प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा प्रदेश सरकार क्रियाशील रहेको उनले बताए।
उनका अनुसार बृहत कुम्भक्षेत्र विकास परियोजना प्रारम्भिक चरणमा कार्यान्वयनमा आइसकेको छ भने सडक पूर्वाधार निर्माणमा तीव्रता दिइनेछ। साथै, धरान नगर क्षेत्रको एकीकृत विकासका लागि अभियान सञ्चालन गर्नुपर्नेमा प्रदेश सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारे।
मेलाको अवसरमा बोलबम मेला आयोजक समितिले लाखौँ भक्तजन आउने अनुमानसहित आवश्यक पूर्वतयारीहरू गरेको छ। पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास बनेपालीका अनुसार वर्षा भएका बेला मन्दिरभित्र हजारौँ भक्तजनलाई ओत लाग्ने व्यवस्था मिलाइएको छ। सुरक्षा, स्वच्छता, पानी र स्वास्थ्य सेवा व्यवस्थापनमा विशेष ध्यान दिइएको छ।
बोलबम मेलामा भक्तजनहरू विशेषगरी पहेँलो लुगा लगाएर र खाली खुट्टा हिँड्दै सप्तकोशी नदीको चतरास्थित संगमस्थलबाट जल ल्याएर पिण्डेश्वर मन्दिरमा चढाउने गर्छन्। धार्मिक विश्वासअनुसार यसरी चढाइएको जलले भक्तजनको मनोकाङ्क्षा पूरा हुने मानिन्छ।
प्रतिक्रिया