पिण्डेश्वरमा बोलबम (तस्विरहरुसहित)

सोमबार, ०५ साउन २०८२

धरान : साउन महिनाको सुरुवातसँगै धरान उपमहानगरपालिका–१४ स्थित प्रसिद्ध धार्मिक स्थल पिण्डेश्वर बाबाधाम मन्दिरमा बोलबम मेला सुरु भएको छ । एक महिनासम्म सञ्चालन हुने मेलाको पहिलो सोमबार आज मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो भिड लागेको छ ।

bol bam

विराटनगरबाट पूजा गर्न आएकी सुष्मा देवी यादवले बिहान १ बजे घरबाट हिँडेर चतराको सप्तकोशी नदीबाट जल लिई रातभरको पैदल यात्रा गरी बिहानै पिण्डेश्वर पुगेको बताइन् । भिडभाड भए पनि चार घण्टासम्म लाइनमा बसेर पूजा गर्न पाउँदा ठूलो सन्तोष मिलेको उनले उल्लेख गरेकी छिन् । 

मेलामा तीन लाख बढी भक्तजन सहभागी हुने अनुमान गरिएको र सोही अनुसार आवश्यक व्यवस्थापन गरिएको पिण्डेश्वर बाबाधाम मूल आयोजक समितिका अध्यक्ष विकास वनेपालीले जानकारी दिए । उनका अनुसार मन्दिर परिसरमा पानी पर्दा समेत एक हजारभन्दा बढी भक्तजन अट्ने व्यवस्था गरिएको छ । साथै, आधुनिक प्रविधिबाट लाइन व्यवस्थापन, यातायात, पार्किङ, विभिन्न संघसंस्थाहरद्धारा पिउने पानी, भोजन र शौचालय लगायतका सेवा निःशुल्क उपलब्ध गराइएको छ ।pii

मेला अवधिभर भक्तजनको सुविधाका लागि जलपान, विश्राम र पूजा सामग्री किन्न दजनौ अस्थायी स्टलहरू सञ्चालनमा ल्याइएको छ । त्यस्तै, स्थानीय बासिन्दा र धार्मिक सङ्घसंस्थाको समन्वयमा स्वैच्छिक सेवा पनि प्रदान गरिएको आयोजक समितिले जनाएको छ । बोलबम मेलामा सप्तकोसी नदीको संगमस्थलबाट ल्याइएको जल पिण्डेश्वर मन्दिरमा चढाउँदा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ ।

धरानको विजयपुर डाँडामा अवस्थित पिण्डेश्वर मन्दिरमा नेपालका विभिन्न जिल्लाका साथै भारतको बिहार, झारखण्ड, उत्तर प्रदेश लगायतका सीमावर्ती क्षेत्रबाट आएका शिवभक्तहरू गेरुवस्त्रमा सजिएर ‘बोलबम’ ‘हर हर महादेव’ नारासहित पैदल यात्रा गर्दै मन्दिरमा जल चढाउन आइपुगेका छन् ।

स्कन्ध पुराणमा समेत उल्लिखित पिण्डेश्वर मन्दिरमा जल अर्पण गर्दा विशेष पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ । यही विश्वासका कारण विशेष गरी साउन महिनाको सोमबार मन्दिरमा भक्तजनको उल्लेख्य भीड लाग्ने गरेको धरान–१४ का वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए । 

pindesor

वि सं २०४२ सालदेखि परम्परागत रूपमा सुरु गरिएको बोलबम मेलामा पछिल्ला वर्षहरूमा श्रद्धालुहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको र भक्तजनको अत्यधिक भिडका कारण मन्दिरका ढोका बिहान ३ बजेदेखि नै खोलिएको उनले जानकारी दिए ।

वडा अध्यक्षका अनुसार पिण्डेश्वर मन्दिर धार्मिक आस्थाको केन्द्रमात्र नभई धार्मिक पर्यटन प्रवर्द्धनको आकर्षक गन्तव्यका रूपमा समेत स्थापित हुँदै गएको छ । मेलामा विशेष गरी व्रत बसेका महिलाको सहभागिता उल्लेखनीय देखिएको छ । हरियो चुरा, पहेँलो साडी र पूजाका सामग्रीसहित व्रतालु महिलाहरू पारिवारिक सुख–शान्तिको कामनासहित शिव पूजामा सहभागी भएको पाइएको छ ।

pindesss

मेलाको सफलताका लागि प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी आवश्यक सुरक्षासहित सम्पूर्ण व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया

स्वर्णिम राई
लेखकको बारेमा
स्वर्णिम राई
धरानबाट पत्रकारिता गर्ने राई प्रदेश खबरका लागि कलम चलाउँछिन् ।

सम्बन्धित समाचार