विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४ अर्ब ४० लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। सोमबार बसेको १६औँ नगरसभामा उपप्रमुख शिल्पा निराला कार्कीले बजेट प्रस्तुत गरेकी हुन्।
बजेट अनुसार प्रशासनिक खर्चका लागि ६४ करोड ७५ लाख, ऋणको सावाँ र ब्याज भुक्तानीमा ५ करोड, चालु वर्षका बाँकी भुक्तानीमा ८ करोड, बहुवर्षीय आयोजनाको भुक्तानीमा ७० करोड रुपैयाँ छुट्याइएको छ। सडक पूर्वाधार र बस्ती विकास, नगरस्तरीय योजना लगायतका पूर्वाधार विकासतर्फ मात्र १ अर्ब ६८ करोड ८३ लाख १३ हजार रुपैयाँ विनियोजन गरिएको छ।
वडास्तरीय योजना तथा कार्यक्रम सञ्चालनका लागि ४३ करोड ५६ लाख, शैक्षिक विकासमा ७५ करोड ५१ लाख ३० हजार, स्वास्थ्यमा १५ करोड ३५ लाख र महिला लक्षित कार्यक्रममा ९१ लाख रुपैयाँ विनियोजन गरिएको छ। सामाजिक विकासतर्फ कुल १ अर्ब ८९ लाख ३० हजार बजेट छुट्याइएको छ।
कृषि, पशुपालन, सहकारी, उद्यमशीलता, उपभोक्ता संरक्षण र पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रमका लागि २ करोड ९६ लाख २५ हजार विनियोजन गरिएको छ। यस्तै, वन वातावरण र विपद् व्यवस्थापनतर्फ ३ करोड १० लाख तथा सुशासन र संस्थागत विकासतर्फ ३ करोड ३० लाख छुट्याइएको छ।
बजेटका स्रोतहरूमा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानमार्फत ३४ करोड ३४ लाख, प्रदेश सरकारबाट ३ करोड ६२ लाख ३० हजार, घरजग्गा रजिष्ट्रेसनबाट ९४ करोड ६० लाख ३ हजारसहित आन्तरिक राजस्वबाट १ अर्ब ४० करोड आम्दानी हुने अनुमान गरिएको छ। संघीय सशर्त अनुदान ८३ करोड ३४ लाख र प्रदेश सरकार सशर्त अनुदान ४ करोड २३ लाख ६७ हजार रहने अनुमान छ।
गत आर्थिक वर्ष २०८१/८२ मा महानगरले ३ अर्ब ५० करोड ३० लाखको बजेट प्रस्तुत गरेको थियो, जसमा २ अर्ब २६ करोड ३५ लाख अर्थात ६५ प्रतिशत आम्दानी भएको विवरण सभामा प्रस्तुत गरिएको छ।
प्रतिक्रिया