काठमाडौँ । यस वर्षको नन्दप्रसाद जानुका स्मृति सम्मानबाट शिक्षासेवी मिलनराज तुलाधर सम्मानित हुने भएका छन् । प्रतिष्ठानका अध्यक्ष एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजय बाबु सिवाकोटीले प्रेस विज्ञप्ति जारी गर्दै शिक्षासेवी तुलाधरलाई उक्त सम्मान प्रदान गर्न लागिएको जानकारी दिए । पुरस्कार तथा सम्मान छनोट समितिले गरेको सिफारिसको आधारमा फाउन्डेसन सञ्चालक समितिको बैठकले रुसका लागि पूर्व राजदूत, क्षमावती माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक, २०२९ सालदेखि दोलखाको शिक्षा क्षेत्रको उन्नयनमा निरन्तर क्रियाशील तुलाधरलाई २५ हजार रुपैयाँ नगद राशि र सम्मान पत्रसहित नन्दप्रसाद जानुका स्मृति सम्मानबाट सम्मानित गर्न लागिएको हो ।
२०८२ साल भदौ ४ गते नन्दप्रसाद शिवाकोटीको जन्म जयन्तीको अवसरमा काठमाडौँमा विशेष सम्मान कार्यक्रम आयोजना गरिने अध्यक्ष सिवाकोटीले बताए ।
साविकको क्षेत्र नम्बर ११ अर्थात् हालको दोलखा जिल्लाको शैक्षिक क्षेत्रका अगुवा, सामाजिक तथा राजनीतिक व्यक्तित्व नन्दप्रसाद सिवाकोटी तथा उनकी पत्नी जानुका शिवाकोटीको नाममा नन्द प्रसाद जानुका फाउन्डेसन स्थापना भई विभिन्न सामाजिक काममा सक्रिय हुँदै आएको छ ।
फाउन्डेसनले दोलखाको शैक्षिक उन्नयन तथा सामाजिक रूपान्तरणका माध्यमबाट समुन्नत दोलखा बनाउने अभियानमा लाग्ने व्यक्तिहरूलाई सम्मानित एवं पुरस्कृतसमेत गर्दै आएको छ ।
विज्ञप्तिमा भनिएको छ, 'यसैको निरन्तरता स्वरूप फाउन्डेसनले नन्दप्रसाद स्मृति दिवसको अवसरमा यस वर्षको नन्दप्रसाद जानुका स्मृति सम्मानबाट शिक्षासेवी मिलनराज तुलाधरलाई सम्मान गर्ने घोषणा गर्दछौँ ।'
प्रतिक्रिया