विराटनगर । कोशी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित स्वास्थ्य नीति, २०८२ सार्वजनिक गरेको छ ।
प्रदेशका नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने यस नीतिले शारीरिक मात्र नभई मानसिक, सामाजिक र भावनात्मक स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेको छ । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. केनिन राईका अनुसार नीति ६ प्रमुख उद्देश्य र २६ नीति तथा रणनीतिसहित तयार गरिएको छ । मन्त्रिपरिषद्को साउन १६ गतेको बैठकबाट स्वीकृत यस नीतिलाई मन्त्रालयले आइतबार आफ्नो आधिकारिक वेबसाइट र फेसबुक पेजमार्फत सार्वजनिक गरेको हो ।
नयाँ नीतिले प्रदेशभित्रको स्वास्थ्य प्रणालीको वास्तविक चुनौतीहरूलाई पहिचान गरेको छ । नीति अनुसार अस्पतालहरूमा गुणस्तरीय सेवा अभाव, पर्याप्त स्वास्थ्य पूर्वाधार र जनशक्तिको कमी, उपलब्ध जनशक्तिको उचित व्यवस्थापन नहुनु र स्वास्थ्य क्षेत्रमा पर्याप्त लगानी नहुनु जस्ता समस्याहरू प्रमुख छन् ।
विशेषगरी नीति चिकित्सकीय विशेषज्ञता र सघन उपचार सेवाको विस्तारमा जोड दिने बताइएको छ । पाँच वर्ष मुनिका बालबालिकामा रक्तअल्पता, प्रजनन उमेरकी महिलामा न्यून पोषण, क्षयरोग, कुष्ठ रोग, उपेक्षित उष्णप्रदेशीय रोग र कीटजन्य रोग जस्ता संक्रमणदर उच्च रोगहरूको नियन्त्रणमा नीति केन्द्रित रहनेछ ।
कोशी प्रदेशमा मानसिक स्वास्थ्य चुनौती पनि ठूलो रहेको तथ्यांकले देखाउँछ । राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०२० अनुसार मानसिक रोगको व्यापकता १३.९५ प्रतिशत, किशोरावस्थामा ११.४५ प्रतिशत, मद्यपानको लत ६.५५ प्रतिशत, लागू औषधको दुर्व्यसन ०.४५ प्रतिशत र आत्महत्याको सोच १०.६५ प्रतिशत रहेको छ । नीति विशेषगरी यस प्रकारका मानसिक स्वास्थ्य समस्याहरू कम गर्ने रणनीतिमा केन्द्रित रहनेछ ।
स्वास्थ्य नीतिको मूल लक्ष्य ‘स्वस्थ मानव पुँजी, समृद्ध प्रदेश’ राखिएको छ । मन्त्रालयले नीति कार्यान्वयनका लागि आवश्यक पूर्वाधार, जनशक्ति व्यवस्थापन र लगानीमा जोड दिने जनाएको छ । यस नीतिले बालबालिका र महिलाको पोषण सुधार, रोग नियन्त्रण र मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने माध्यम बन्ने अपेक्षा गरिएको छ ।
विज्ञहरुका अनुसार यो नीति कोशी प्रदेशमा स्वास्थ्य सेवा सर्वसुलभ र गुणस्तरीय बनाउनको लागि बलियो आधार तयार गर्ने महत्वपूर्ण पहल हो । नीति प्रभावकारी रूपमा लागू भए प्रदेशका नागरिकले शारीरिक, मानसिक र सामाजिक रूपमा सुदृढ स्वास्थ्य लाभ गर्न सक्ने उनीहरुको भनाइ छ ।
प्रतिक्रिया