सिन्धुली । नेकपा (एमाले) वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले राजनीति सही मार्गमा नचले मुलुकको समृद्धि, स्थायित्व र जनअपेक्षाहरू सबै समाप्त हुने बताएका छन्।
सिन्धुलीमा जारी एमालेको संगठनात्मक प्रशिक्षण कार्यक्रममा अध्यक्ष ढुङ्गेलले योजनाबद्ध ढङ्गले अघि नबढ्ने राजनीति र उद्देश्य, नीति तथा सिद्धान्तविहीन पार्टीहरूले जनताको पक्षमा काम गर्न नसक्ने प्रष्ट पारे। उनले नेपाली राजनीतिमा दिशा र दूरदृष्टि अभावले समस्या उत्पन्न भइरहेको बताए। समाजको गति र परिवर्तनलाई बुझ्न नसक्ने राजनीतिक सोचका कारण जनविश्वास कमजोर बनेको धारणा पनि उनले राखे।
राजनीतिक स्थायित्व र सहकार्य आवश्यक भएको सन्दर्भमा ढुङ्गेलले वाग्मती प्रदेशमा नेपाली कांग्रेससँग सहकार्य गर्नु परेको बताए। कांग्रेसले कतिपय गलत निर्णय गरे पनि सत्ता साझेदार भएकै कारण सहन बाध्य भएको उनले प्रस्ट पारे।
प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ढुङ्गेलले एसियामा नै नेकपा एमालेको जस्तो बलियो सांगठनिक संरचना अरू कुनै पार्टीसँग नरहेको दाबी गरे। उनले सृजनशीलता, स्पष्ट दृष्टिकोण र संगठनात्मक अनुशासन एमालेले आफ्नो विशेषता बनाएको बताए।
जनताका समस्या, अपेक्षा र बोझको जिम्मेवारी अब एमालेले बोक्नुपर्ने उनको भनाइ छ। उनले पार्टीले बोलेको कुरा स्पष्ट रूपमा जनतासमक्ष राख्न नसक्दा समस्या उत्पन्न भएको स्वीकार गर्दै, समृद्ध सिन्धुली बनाउन सबै तहका नेता, कार्यकर्ता र नागरिक एकजुट भएर लाग्नुपर्ने सुझाव दिए।
प्रशिक्षण कार्यक्रममा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली र केन्द्रीय स्कुल विभाग प्रमुख घनश्याम कोइरालाले प्रशिक्षणको रणनीति, दीर्घकालीन उद्देश्य तथा कार्यशैलीका पक्षमा धारणा राखे। उनीहरूले वैचारिक स्पष्टता, संगठनात्मक अनुशासन र व्यवहारमा रूपान्तरण जरुरी रहेको बताए।
कार्यक्रममा युवाहरूमा ज्ञान, तर्क, मनोविज्ञान, नेतृत्व र आत्मविश्वास अभिवृद्धि गर्नुपर्ने विषयमा जोड दिइएको थियो। भ्रम र अन्योलको अवस्था अन्त्य गर्न सबैभन्दा पहिले गन्तव्य पहिल्याउन सक्नुपर्ने र औचित्यपूर्ण कामका लागि प्रष्टता आवश्यक रहेको प्रशिक्षकहरूको भनाइ थियो।
पार्टीभित्र वैचारिक स्पष्टता, सांगठनिक एकता र राजनीतिक कार्यदिशा सुदृढ गर्दै जनतामाझ विश्वसनीय नेतृत्व तयार गर्न कार्यक्रम आयोजना गरिएको बताइएको छ।
प्रतिक्रिया