आगामी दशकलाई सूचना प्रविधिको दशकका रुपमा अगाडि बढाइनेछः सञ्चारमन्त्री गुरुङ

मंगलबार, १० असार २०८२

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गरी कार्यान्वयन गरिने बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा आफ्ना मन्त्रालयमा बिनियोजित बजेटमा सन्दर्भमा भएको छलफलमा उठेका प्रश्नका जवाफ दिँदै मन्त्री गुरुङले आगामी दशकलाई सूचना प्रविधिको दशकका रुपमा अगाडि बढाउने उल्लेख गर्दै डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गरी कार्यान्वयन गरिने जानकारी दिए।

उनले सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता भसकेको जानकारी दिए। साइबर आक्रमणको पहिचान, रोकथाम र प्रतिकार्य गर्दै उत्थानशील साइबर स्पेस तयार गर्ने उद्देश्यका साथ राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापना गरिएको उनले बताए। मन्त्री गुरुङले ब्रोडब्यान्ड इन्टरनेट सेवा विभिन्न स्थानीय तहका ६ हजार ५६६ वडा केन्द्रमा पुगेको जानकारी दिँदै आगामी आर्थिक वर्षमा सबै वडामा पुर्‍याइने उल्लेख गरे।

पाँच हजार ३४१ सामुदायिक माध्यमिक विद्यालयमा समेत ब्रोडब्यान्ड इन्टरनेट जडान भइसकेको उनले बताए। उनले सरकारी र सार्वजनिक सेवामा नागरिकको पहुँचलाई सहज बनाउन र सेवाहरुको दक्षता बढाउन अधिकांश सेवाहरुलाई नागरिक एपमा आवद्ध गर्नेगरी प्रणाली विकास गरिएको धारणा राखे।

मन्त्री गुरुङले सूचना प्रविधि क्षेत्रमा विकसित नवीनतम प्रविधिको उपयोग गर्न एआई सम्बन्धी नीति स्वीकृतिको चरणमा रहेको जानकारी दिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार