युद्धभूमिबाट उद्धार : इरानबाट घर फर्किए बुटवलका दुई युवा,अनुभवले झस्किए

बुधबार, ११ असार २०८२

बुटवल : युद्धले थिलथिलो पारेको देश इरानबाट रोजगारीका लागि गएका बुटवलका दुई युवा सकुशल घर फर्किएपछि उनीहरूलाई एक किसिमको पुनर्जन्म जस्तै लागेको छ।

गणेशप्रसाद पोखरेल र सुमन गैरे,बुटवल उपमहानगरपालिका–१२ र १३ का स्थायी बासिन्दा,कपिलवस्तुको कृष्णनगर नाका हुँदै बुधवार घर आइपुगेका हुन्।

इजिप्ट, सिरिया र इरानजस्ता अशान्त देशमा जीवनको जोखिमा कमाइको सपना बोकेर जाने नेपालीहरूको कथाले यस पटक पनि उस्तै अनुभव बोकेको छ।

इरानको मसाद सहरबाट भारत सरकारले उद्धार गरी नेपाल सरकारमार्फत घर फर्काइएका यी युवाहरू अहिले स्वदेशमा रमाउँदै छन्।

सुमन गैरेले १० वर्षदेखि इरानमा काम गर्दै आएका थिए। युद्धको चपेटामा परे पनि दैनिक जीवन खासै प्रभावित नभएको अनुभव सुनाउँदै उनी भन्छन्,"सिधा आक्रमण त देखिएन, तर मनको डर त कहिल्यै हटेन।"

गणेश पोखरेलको कथा पनि उस्तै छ। सरकारी क्याम्पमा काम गर्ने क्रममा उनले पाल्पा र अर्घाखाँचीका नेपालीहरूसँग पनि साथ पाए।

"बजार गयो, काम गर्‍यो, फर्कियो, कसैले केही भन्योैैैैन। तर जब युद्ध टाढाबाट नजिकिँदै आएको महसुस हुन थाल्यो, फर्किनु नै ठिक भयो भन्ने लाग्यो,"उनले भने।

नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत गरेको सक्रियता र भारतीय दूतावासको सहकार्यमा उनीहरूको उद्धार सफल भएको हो।

अब उनीहरू यस्तै जोखिम हुने देशमा फर्किन नचाहने मनस्थिति बनाइरहेका छन्।

युद्धभूमिबाट फर्किएर घरको आँगनमा उभिँदा उनीहरूको अनुहारमा देखा परेको सन्तोष,आफ्ना परिवारको आँखामा देखिएको आँसु र हाँसो,यी सबै एक सुरक्षित देश फर्किएर बाँचिएको अनुभूतिका चिह्न हुन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार