जनता माविमा शौचालय र खानेपानीको धारा निर्माण गर्दै लायन्स क्लब

विहीबार, १९ असार २०८२

सुन्दरहरैंचा। लायन्स क्लब अफ इटहरी क्रियटिभ लेडीले सुन्दरहरैंचा नगरपालिका–१ मा अवस्थित श्री जनता माध्यमिक विद्यालयमा शौचालय र खानेपानीको धारा निर्माण गर्ने भएको छ। विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सरसफाइ र स्वच्छ पानीको पहुँच सुनिश्चित गर्ने उद्देश्यले क्लबले यो सामाजिक अभियान सुरु गरेको हो।

बुधवार एक औपचारिक कार्यक्रमका बिच विद्यालय परिसरमा शौचालय निर्माणको शिलान्यास गरिएको हो। कार्यक्रममा लायन्स क्लब अफ इटहरी क्रियटिभ लेडीकी अध्यक्ष स्मृति खतिवडाले शौचालय निर्माण क्लबको पूर्ण खर्चमा हुने जानकारी दिइन्। क्लबका अनुसार दुई वटा शौचालयमध्ये एक छात्रहरूका लागि र अर्को छात्राहरूका लागि निर्माण गरिनेछ।

शिलान्यास कार्यक्रममा लायन्स क्लबका पूर्व अध्यक्षहरू, पदाधिकारीहरू र अन्य सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रमुख अतिथिका रूपमा कार्यक्रममा लायन्स डिस्ट्रिक्ट ३२५ सी का डिस्ट्रिक्ट गभर्नर बबर जङ्ग थापा, क्याबिनेट ट्रेजरर नागेश पोखरेल, चिफ एरिया को–अर्डिनेटर रोशन बुढाथोकी, एडमिनिस्ट्रेटिभ चिफ लोकेन्द्र प्रसाद ढकाल, ग्याट एरिया चिफ भोजराज दहाल, र जोन चेयरपर्सन पुनम थापा मगर सहभागी थिए।

 ग्याट एरिया चिफ भोजराज दहालले लायन्स क्लब ग्याट एरिया -४ अन्तर्गतको यो क्लबले आफ्नै पहलमा करिब ७ लाख रुपैयाँ बराबरको लागतमा शौचालय निर्माण गर्न लागेको जानकारी दिए। उनले शौचालयसँगै खानेपानीको सुविधा पनि उपलब्ध गराइने बताए।

विद्यालयमा विद्यार्थी सङ्ख्याको अनुपातमा पर्याप्त शौचालयको अभाव भएको बताउँदै क्लबले दीर्घकालीन उपयोगका लागि गुणस्तरीय संरचना निर्माण गर्ने योजना बनाएको छ। यसले विद्यालयको पठनपाठन वातावरणलाई अझ स्वस्थ र बालमैत्री बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

स्थानीय विद्यालयमा आधारभूत पूर्वाधार निर्माणको काममा हातेमालो गर्दै आएको लायन्स क्लब अफ इटहरी क्रियटिभ लेडीले यसअघि पनि विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। 

विद्यालय प्रशासन, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूले क्लबप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले सरकारी विद्यालयको शैक्षिक वातावरणमा सुधार ल्याउन ठुलो टेवा पुर्‍याउने बताएका छन्। निर्माण कार्य छिट्टै सुरु गरी आगामी केही महिनाभित्र सम्पन्न गरिने क्लबले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार