बढ्दो वायु प्रदूषणका कारण नेपाल जोखिमपूर्ण अवस्थामा छ। जुनसुकै मौसममा पनि प्रदूषणको जोखिम रहने भएकाले हालको मनसुनमा पनि सचेत रहनुपर्ने देखिन्छ।
विश्व बैंकले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले काठमाडौं उपत्यका र तराई वायु प्रदूषणका लागि हटस्पट भएको साथै वायु प्रदूषणले औसत नेपालीको आयु ३.४ वर्षले घटाउने र वार्षिक रूपमा लगभग २६,००० जनाको अकालमा मृत्यु हुने गरेको जनाएको छ।
विश्व बैंकको प्रतिवेदन साथै मनसुनमा हुने वायुप्रदुषणको जोखिम लगायतका विषयमा चर्चित वातावरणविद् भुषण तुलाधरसँग गरिएकाे कुराकानीकाे सम्पादित अंश:
यतिबेला नेपालको वायु प्रदूषणको अवस्था कस्तो छ, मनसुनको समयमा वातावरण सम्बन्धी कस्तो जोखिम हुनेगर्छ ?
मनसुन भएकाले वायु प्रदूषण केही कम नै भएको छ। किनभने पानीले मौसम सफा बनाउँछ। यद्यपी, केही ठाउँमा प्रदूषण कायम नै छ। नेपालमा सबैभन्दा बढी प्रदूषित ठाँउ कुन हो भनेर खोज्ने हो भने, नेपालको आधाजति घरको भान्छाहरु नै हुन्।
हरेक समयमा दाउरा, गुइँठा प्रयोग गर्ने गरेका छन्। त्यसले प्रदूषण बढाइरहेको छ। मनसुनको समयमा वायु प्रदूषण घट्छ र पानीको मात्रा बढ्ने सम्भावना हुन्छ।
जसले गर्दा हैंजा, झाडापखाला जस्ता रोगहरु लाग्न सक्छन्। प्राकृतिक प्रकोपका कारणपनि रोगहरु आउन सक्ने सम्भावना हुन्छ। त्यसैले यो मनसुनमा चाँहि पानीको प्रदूषण र विपत्तीका घटनाहरुले गर्दा जोखिम बढ्ने गर्छ।
मौसम अनुसार वायु प्रदूषणले मानव स्वस्थ्यमा कस्तो किसिमको जोखिम देखिने गर्छ ?
मौसम अनुसारको वायु प्रदूषणले मानिसको स्वास्थ्यमा एकदमै ठूलो जोखिम बढ्ने गरेको छ। विश्वव्यापी रुपमा नै यो मानिसको जनस्वास्थ्यको सबैभन्दा प्रमुख चुनौति भनेर भनिएको छ। विश्व स्वस्थ्य संगठनले नै मानिस मृत्युको प्रमुख कारण प्रदूषण हुने गरेको भनेको छन्।
वातावरण प्रदूषणका कारण हावा फोहोर आउँछ र त्यो मुटु हुँदै शरीरका भागमा पुर्याउने हुनाले यो चुनौतिको रुपमा छ। नेपालमा वायु प्रदूषण प्रमुख समस्याको रुपमा आइसकेको छ। जन्मदेखि मृत्युसम्म चाहिने भनेको हावा हो त्यहि हावा नै प्रदूषित आउन थाल्यो भने मानिसको जनस्वास्थ्यमा ठूलो चुनौती बनेर आउने गर्छ।
विश्व बैंकले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनमा उपत्यका र तराई नेपालको वायु प्रदूषणका लागि हटपस्ट भनिएको छ। हजुरलाई के लाग्छ ?
विश्व बैंकले निकालेको अध्ययन प्रतिवेदन सही छ। अरु अरु प्रतिवेदनले पनि त्यस्तै रिपोर्टहरु निकालेको छ। सरकारले पनि जुन किसिमले मापन गर्छ वायु प्रदूषण त्यसले पनि त्यही देखाएको छ। काठमाडौ उपत्यका, जहाँ स्रोत-साधनका मात्रा बढी भएकाले प्रदूषण बढी छ।
उपत्यका भएकाले पनि त्यो प्रदूषण गुम्सिएर बसेको हुन्छ। दोस्रो भनेको तराई क्षेत्र हो। तराईमा पनि प्रदूषणको स्रोतहरु धेरै छन्। बाहिरबाट सँगै आएका सवारी साधनहरुले पनि धेरै असर गरेको छ। र अर्को भनेको खेती गर्दा जुन अवशेषहरु आँउछन् त्यसलाई जलाउने गरिएकाले पनि त्यहाँ बढी प्रदूषण हुने गरेको छ।
विश्व बैंकले वायु प्रदूषणले औसत नेपालीको आयु ३.४ बर्षले घटाँउछ र बार्षिक रुपमा लगभग २६००० जनाको अकालमा मृत्यु निम्त्याँउछ भनिएको छ। हजुर यसबारे के भन्नुहुन्छ ?
विश्व बैंकले जुन ३.४ बर्षले औसत घटाउँछ भन्ने प्रतिवेदन निकालेको छ त्यो सही छ। तर त्यति ढाटा तराईतिर हेर्ने हो भने पाँच बर्षले घटेको देखिन्छ। कतिपय ठाँउमा पाँच भन्दा बढी छ। त्यसैले विभिन्न प्रतिवेदनले देखाए अनुसार हामी एकदमै धेरै गम्भीर हुन आवश्यक छ।
विश्व बैंकका अनुसार प्रदूषणले स्वास्थ्यमा मात्र होइन अर्थतन्त्रमा पनि गम्भीर असर पारिरहेको हुन्छ। त्यसले गर्दा नेपालको कुल ग्राहस्थ उत्पादनमा ६ प्रतिशत नाश गरिरहेको छ भन्ने देखाइ रहेको छ। विश्व बैंकले जुन अध्ययन अनुसन्धान गरेको छ त्यो राम्रो हो। त्यसलाई गम्भीरतार्पूवक लिन जरुरी छ।
प्रदुषणले स्वास्थ्यको अतिरिक्त्त कुन-कुन क्षेत्रमा असर पारिरहेको छ ?
सबैभन्दा ठूलो कुरा भनेको मानव स्वस्थ्यमा नै असर गर्छ। यसले शिक्षादेखि बालबालिकाको मस्तिकमा समेत गम्भीर असर पर्छ। त्यसले गर्दा बालबालिकाको मस्तिष्कमा गहिरो असर परेर पढ्न नसक्ने समेत हुन्छ। पर्यटन क्षेत्रमा असर गर्ने हुँदा अर्थतन्त्र पनि घट्छ । यसको सुरुवात मात्र स्वस्थ्य हो।
वातावरण जोखिम न्यूनीकरण र प्रदूषण कम गर्न नेपालले के कुरामा प्राथमिकता दिनुपर्छ ? सिमेन्ट, इटाभट्टा उद्योगहरु संचालनको कुनै नयाँ प्रविधि छ ?
सबैभन्दा पहिला हामीले बुझनुपर्ने के हो भने विश्वका प्रदूषित सहरहरुमध्ये सबैभन्दा धेरै प्रदूषित सहरमा पर्छौ। त्यसलाई बुझेर त्यसको समस्याको समाधान खोज्ने हो भनेदेखि सबै मिल्दै जान्छ।
नेपालको वायु प्रदूषणको व्यवस्थापनका लागि कार्ययोजना बनाएर त्यसमा लगानी गर्न सक्नुपर्छ। लगानी गर्न सरकारसँग जनताबाट उठाएको प्रशस्त मात्रामा पैसा छ। तर त्यो खर्च गर्न सकेको छैन।
जस्तै विद्युतीय गाडीको प्रयोग गर्ने, इट्टाभट्टहरुमा कोइलाको ठाँउमा वायु प्यालेटहरु प्रयोग गर्ने गरियो भने वायु प्रदूषण कम हुन सक्छ। यस्ता उद्योगहरु नेपालमा मात्र होइन विदेशी मुलुकमा पनि छन्। सबैतिर यसैगरि चलाउने गरेका छन्। सबैले गर्दा हामीले पनि गर्न सक्छौँ।
केही महिनाअघि मात्र काठमाडौं प्रदूषित सहरमध्ये एक नम्बरमा परेको थियो । अब सरकारले वातावरण प्रदूषण न्यूनिकरण गर्न के कस्तो कदम चाल्नुपर्ला ?
सरकारले यो विषयलाई विशेष प्राथमिकतामा राख्न जरुरी छ। प्राथमिकतामा राख्ने वित्तिकै समाधान खोज्न थालिन्छ। अनि बल्ल काम गर्न सुरु हुने भएकाले सबैभन्दा पहिला यसलाई प्राथमिकतामा राख्न आवश्यक छ । त्यसका लागि योजनाबद्ध तवरले योजना बनाएर अघि बढ्नपर्छ।
नेपालको वायु प्रदूषणको व्यवस्थापनका लागि कार्ययोजना बनाएर त्यसमा लगानी गर्न सक्नुपर्छ। लगानी गर्न सरकारसँग जनताबाट उठाएको प्रशस्त मात्रामा पैसा छ। तर त्यो खर्च गर्न सकेको छैन।
बर्षमा तीनचार अर्ब पैसा उठ्छ। त्यहाँबाट पनि व्यवस्थापन गर्न सकिन्छ। यस्ता प्रदूषण घटाउने उपायहरु थुप्रै छन्। जस्तै विद्युतीय सवारी साधानहरु ल्याउने, घर भित्रको धुँवा धुलो हटाउने विशेष उपाय हुन्। त्यसका लागि सरकारले र जनता दुृवैले महत्वपूर्ण भुमिका खेल्न आवश्यक छ।
प्रदूषण नियन्त्रणमा हाल सरकारले गरिरहेको कामप्रति तपाईको भनाइ के छ ?
सरकारले काम नगरेको होइन गरेको छ। तर प्रर्याप्त मात्रामा गरेको छैन्। जुन गम्भीरताका साथ यसलाई हेरिनुपर्ने हो त्यसरी हेरिएको छैन। गरेको काम भनेको विद्युतीय सवारी साधनमा कर कम गरेको छ ।
तर त्यतिले मात्र नपुग्ने भएकाले सार्वजनिक यातायातमा विद्युतीकरण गर्न सक्यो भने सहज हुन्छ। तर यो गर्न चुनैतिको विषय छ। डिजेलको भन्दा विद्युतीय बसहरु महंगो छ। त्यसैले सरकारले केही गरेको छैन। सरकारले यसलाई गम्भीरतापूर्वक लिएर अघि बढ्न आवश्यका छ।
काठमाडौं उपत्यकाकै अवस्था हेर्दा महानगरपालिकाले सडकमा भएका फोहोर उठाउनुका साथै सडकका पेटीहरुमा समेत रगंरोगन गरि बिरुवाहरु रोपेको छ। त्यस्ता कामले वातावरण प्रदुषण न्यूनिकरण कतिको सहजीकरण गरेको छ ?
पक्कैपनि सहर राम्रो देखिएको छ। ठाँउ ठाँउमा वृक्षारोपण गरिएको छ। काठमाडौंले मात्र होइन ललितपुरले पनि गरेकै छ। यो धेरै राम्रो हो। तर अलिकति कहाँनिर चुक्यो भने त्यो फोहोर संकलन गरिसकेपछि के गर्ने भन्ने निष्कर्ष निकालेको छैन।
अहिले त्यो लगेर सिस्टोलमा फालिरहेको छ। र सिस्टोलमा त्यो धेरै चाँडो भरिने वाला छ। त्यसलाई पुनः प्रयोग गर्न सक्नुपर्ने हो भएको छैन्। बेलाबेलामा कवाडीहरुलाई लखेटिने गरेको छ, कहिले कहिले कवाड कर लिने गर्छ।
कवाड कर लिने भनेको पुर्ण प्रयोग गर्न नसकिने कुरामा हो। पुर्ण प्रयोग गर्न मिल्ने वस्तुमा समेत कर लिएको छ। अहिले गरेको काम ठिक छ पछि गर्ने कामहरु सोचेर गर्न आवश्यक छ।
प्रतिक्रिया